कोकिला ढकाल
इलाम, मङ्सिर ५ गते । नेपाली कांग्रेस इलामले पार्टी ‘सय दिने विशेष अभियान’ थालेको छ । एक कार्यक्रमका बिच कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले अभियानको उद्घाटन गर्नुभएको हो ।
पाटी सुदृढीकरणका लागि थालिएको अभियान उद्घाटन गर्दै महरले पार्टीका आन्तरिक विकृति हटाउन र एक्लै चुनाव लड्ने शक्तिको निर्माण गर्न पनि सय दिने अभियान थालिएको बताउनुभयो । पार्टी शिक्षा विभाग प्रमुखसमेत रहेका महरले मङ्सिर १६ मा हुने उपनिर्वाचन ‘मिनी चुनाव’ भएको भन्दै कांग्रेसले आफूलाई सक्षम साबित गर्न जित्नुको विकल्प नभएको समेत बताउनुभयो ।
सय दिनको अभियानमा इलामका विभिन्न पालिका, वडासम्म पुगेर पार्टीको गतिविधिका विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ । अभियानमा पार्टीका नीति, कार्यक्रम, चुनावी तयारीलगायतबारे स्थानीय नेता कार्यकर्तासँग छलफल हुने जिल्ला उपसभापति खगेन्द्र देवानले बताउनुभयो ।