अमरराज नहर्की
तनहुँ, मङ्सिर ५ गते । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । पूर्वीखण्ड अन्तर्गत आँबुखैरेनी गाउँपालिकाबाट सुरु गरिएको हो ।
आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य सुरु गरिएको पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार यसअघि चार लेनको २९ किलोमिटर र दुई लेनको पाँच किमी गरी ६३ किमी सडक कालोपत्र गरी दोस्रो चरणको कालोपत्र गरिएको थियो । पाण्डेले भन्नुभयो, "सिङ्गल लेयर कालोपत्रे गरिएको सबै स्थानमा क्रमश दोस्रो डबल लेयरको कालोपत्रे गर्छौँ ।"
साथै कालोपत्र नगरिएका स्थानमा पनि काम तदारुकताका साथ भइरहेको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा ६ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्रे गरिन्छ ।
दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको आयोजनाले जनाएको छ । यसअघि चाडपर्व र वर्षाका कारण सोचे अनुरुपको काम गर्न नसकिएकोे हुँदा अब निर्माण कार्यले गति लिएको छ । वर्षायामा भासिएर, पुरिएर बिग्रिएको सडकको मर्मत सम्भार कार्य हाल धमाधम भइरहेको पूर्वीखण्डका प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
पूर्वी सडकमा ४१ दशमलव ४५ किलोमिटर दूरी छ । पृथ्वी राजमार्गको पूर्वी खण्ड आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले ठेक्का सम्झौता गरेको थियो । हालसम्म ६८ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।
पूर्वी खण्डको कामका लागि वि.सं. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारी चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।
पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको सात अर्ब ४ करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ ।
आयोजना अनुसार दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजारक्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।