• ५ मंसिर २०८१, बुधबार

संरक्षित क्षेत्रभन्दा बाहिर राज लाहाँचे

blog

कैलालीमा देखापरेको राज लाहाँचे चरा । तस्बिरः हिरुलाल डङ्गौरा

अविनाश चौधरी

धनगढी, मङ्सिर ५ गते । नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् ।  कैलालीमा रहेको घोडाघोडी ताल क्षेत्र, बसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल क्षेत्र, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोरलगायतको क्षेत्रमा यो प्रजातिका चरा पाइन थालेका हुन्  ।

विश्व प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले राज लाहाँचेलाई विश्वमै लोपको सँघारमा पुगेको अति संवेदनशील चराको सूचीमा राखेको छ । सुदूरपश्चिमको दुई जिल्लामा यो चरा निकुञ्ज क्षेत्रभन्दा बाहिर पाउन थालेको र सङ्ख्या पनि बढ्दो क्रममा रहेको चराविद् हिरुलाल डङ्गौराले बताउनुभयो । उहाँका अनुसार घोडाघोडी ताल क्षेत्रमा सुरुमा दुईवटा मात्र राज लाहाँचे अभिलेख गरिएको थियो । पछिल्लो अध्ययनले सङ्ख्या बढेर १३ पुगेको देखाएको छ । १३ वटै राज लाहाँचे एकै समूहमा देखापरेको डङ्गौराले बताउनुयो । 

यसैगरी, कञ्चनपुरस्थित लालझाडी कोरिडोरमा एकसाथ नौ वटा राज लाहाँचे देखा परेका छन् । सङ्ख्यासँगै राज लाहाँचे देखापर्ने क्षेत्र विस्तार भएको डङ्गौराको भनाइ छ । 

विश्वमा २३९ प्रजातिका लाहाँचे पाइन्छन् । नेपालमा हालसम्म २६ प्रजातिका लाहाँचे भेटिएका छन् । जसमध्ये राज लाहाँचे विश्वमै दुर्लभ प्रजाति हो । यो प्रजातिको चरा शुक्लाफाँटा, बर्दिया, बाँके र चितवन राष्ट्रिय निकुञ्जलगायतका संरक्षित क्षेत्रमा पाइन्छन् । निकुञ्ज क्षेत्रभन्दा बाहिर भने कैलाली, कञ्चनपुरमै बढी सङ्ख्यामा देखापरेको चराविद्को भनाइ छ ।