• ११ पुस २०८१, बिहिबार

विद्यालयमा स्थानीय उत्पादनको खाजा

blog

सुर्खेत र जाजरकोटमा स्थानीय उत्पादनको दिवा खाजा खुवाउनेसम्बन्धी आयोजित प्रदेशस्तरीय कार्यक्रम । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, मङ्सिर ५ गते । कर्णाली प्रदेशका आठ सय सामुदायिक विद्यालयमा स्थानीय उत्पादनका दिवा खाजा खुवाइने भएको छ । विश्व खाद्य कार्यक्रमले अन्तर्राष्ट्रिय लायन्स क्लब फाउन्डेसनको सहयोगमा कर्णाली प्रदेशको सुर्खेत र जाजरकोटका आठ सय सामुदायिक विद्यालयमा स्थानीय उत्पादनको दिवा खाजा खुवाइने भएको हो । 

मङ्गलबार सुर्खेतमा आयोजित कार्यक्रममा राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गर्न स्थानीय उत्पादनमा आधारित दिवा खाजा खुवाउन लागिएको जानकारी दिइएको छ । कर्णालीका सुर्खेत जिल्ला र जाजरकोटका १७ वटा पालिकामा स्थानीय उत्पादनको दिवा खाजा खुवाउनुपर्ने छ । कर्णालीका १७ पालिकाका आठ सय सामुदायिक विद्यालयमा अध्ययनरत ९० हजारभन्दा बढी बालबालिकाले स्थानीय उत्पादनको दिवा खाजा खान पाउने छन् ।

 कर्णालीमा कुल तीन हजार २३३ वटा विद्यालय छन् । जसमा सामुदायिक दुई हजार ९८३ वटा छन् भने संस्थागत २५० वटा रहेका छन् । खाजाका लागि स्थानीय समुदायमा रहेका साना किसान, कृषि सहकारीले आफूले उत्पादन गरेका सामग्री खुवाउनुपर्ने छ । स्थानीय उत्पादनलाई दिवा खाजाका रूपमा प्रयोग गरिएपछि बालबालिकाको पोषणमा सुधार आउने, साना किसान तथा कृषि सहकारीले उत्पादन गरेका सामग्री सदुपयोग हुने र शिक्षाको लगानी खेर नजाने भएकाले स्थानीय खाजा खुवाउन लागिएको जनाइएको छ । 

विश्व खाद्य कार्यक्रम केन्द्रीय कार्यालय काठमाडौँका निरा शर्माले नेपालमा पाँच वर्षअघिदेखि राष्ट्रिय दिवा खाजा कार्यक्रम सञ्चालन भएको र नमुनाका रूपमा कर्णाली प्रदेशको जुम्लाको तातोपानी गाउँपालिका तथा सुर्खेतको लेकबेँसी नगरपालिका र गुर्भाकोट नगरपालिकामा लागु भएको जनाउनुभयो । अब भने सुर्खेत र जाजरकोटका सबै पालिकामा  यो कार्यक्रम लागु हुने छ । उहाँका अनुसार अहिले देशभर ३० लाख बालबालिकाले दिवा खाजा खाइरहेका छन् । जुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद जैसीले स्थानीय उत्पादनको खाजाले लगानी सदुपयोग भएको जानकारी दिँदै यो कार्यक्रमको क्षेत्र विस्तार गर्नुपर्ने सुझाव दिनुभयो । 

कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दिवा खाजाको रकम निकै थोरै भए पनि स्थानीय उत्पादन, स्रोतसाधन प्रयोग गरिएपछि कर्णालीमा प्रभावकारी हुने बताउनुभयो । उहाँले स्थानीय उत्पादनको खाजाले कृषि र उद्यमशीलतालाई पनि जोड्ने भएकाले दुई जिल्ला मात्र नभई समग्र कर्णालीका सबै जिल्लामा लागु गर्न आग्रह गर्नुभयो । 

प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले स्थानीय उत्पादनको दिवा खाजाले विद्यार्थी विद्यालयमा नियमित हुने र राष्ट्रिय तथा विकास साझेदारको लगानी सदुपयोग हुने उल्लेख गर्नुभयो । मल्टिपल काउन्सिल, लायन्स क्लब इन्टरनेसनलका चेयरपर्सन रमेश लामाले बालबालिकाको पोषणमा सुधार ल्याउन र शिक्षामा लगानी बढाउन सहयोग गरिएको बताउनुभयो । विश्व खाद्य कार्यक्रमका फिल्ड अफिस कर्णालीका प्रमुख पूर्णबहादुर नेपालीले स्थानीय उत्पादनको दिवा खाजाले स्थानीय उत्पादनलाई बढावा दिने विश्वास व्यक्त गर्नुभयो । यसबाट बालबालिकाको पोषण अवस्थामा सुधार आउने पनि दाबी गर्नुभयो ।