• ११ पुस २०८१, बिहिबार

ड्रिलिङको काम असी प्रतिशत सम्पन्न

blog

दैलेख समाचारदाता

दैलेख, मङ्सिर ५ गते । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ८० प्रतिशत  सकिएको छ । चार महिनाभित्र ड्रिलिङको काम सक्ने गरी गत जेठदेखि  काम सुरु गरिएको भए पनि कडा चट्टानका कारण ८० प्रतिशत मात्र ड्रिलिङको काम सकिएको परियोजनाले जानकारी दिएको छ । 

खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट सुरेश श्रेष्ठले चार हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्नुपर्नेमा हालसम्म तीन हजार १२९ मिटर ड्रिलिङ भइसकेको जानकारी दिनुभयो । उहाँले चार महिनाभित्र काम सक्ने लक्ष्यका साथ ड्रिलिङ थालिएकोमा जमिनमुनि कडा चट्टानका कारण मङ्सिर मसान्तसम्म ड्रिलिङको काम सक्ने अनुमान गरिएको बताउनुभयो । “अहिले विज्ञहरूले दुई/दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिरेहका छन् । त्यसैका आधारमा सोर्स रक, रिजर्भ वायर रक र सिल रक गरी तीन वटा थप अध्ययन हुने छ,” उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थ हुनका लागि तय गरेका आवश्यक मापदण्ड अन्तर्गतका सङ्केत सफलतापूर्वक प्राप्त भइरहेको छ ।”

ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ ।  हाल चिनियाँ र नेपाली गरी ७० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । दैलेखको शिरस्थान, नाभीस्थान, पादुकास्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सुरुमा तीन वर्षभित्र तीन चरणमा काम सक्ने गरी सम्झौता भएको थियो तर कोरोना महामारीका कारण सम्झौता अनुसार काम हुन सकेन । पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुन सक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए ।