गोविन्द शर्मा
बाँके, मङ्सिर ५ गते । नेपालगञ्जमा पहिलो पटक घर नम्बरिङको काम धमाधम भइरहेको छ । नेपालगञ्ज उप–महानगरपालिका १ देखि पहिलो पटक मेट्रिक प्रणालीको आधारमा घर नम्बरिङको काम सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता तथा वडा १ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।
वडाध्यक्ष रिजालले भन्नुभयो, ‘यसमा गुगल कोडसमेत राखिएको हुन्छ, यसको प्रयोगबाट आफूले खोजेको स्थानमा पुग्न सहजता हुन्छ, अहिलेको सूचना प्रविधिको जमानामा यो अनिवार्यजस्तै छ ।’ वडा नम्बर १ मा १५ टोलमा दुई हजारभन्दा बढी घर छन् । उपमहानगरपालिकाका इञ्जिनियर चन्दनराज दाषले मङ्सिरभित्र सम्पूर्ण घर नम्बरिङ गरिसक्ने योजनाअनुसार प्रविधिक र अन्य कर्मचारी परिचालन गरिएको जानकारी दिनुभयो ।
टोलको नम्बर प्लेटमा टोलको नाम र सङ्ख्या उल्लेख छ । यो सङ्ख्या टोलको सुरु स्थानबाट मिटरअनुसार राखिने दासले बताउनुभयो । गुगल कोड राखेमा आफू भएको स्थान पत्ता लाग्नेछ । घर नम्बरिङसँगै उपमहानगरपालिकामा सफ्टवेयर राखिएको छ । जसबाट घरधनीको समेत विस्तृत विवरण पत्ता लाग्ने उपमहानगरपालिकाले जनाएको छ । घना सहरी क्षेत्र भएकाले एम्बुलेन्स र दमकललगायतका अत्यावश्यक सवारी साधनका लागि यो सहज हुने उपमहानगरपालिकाले जनाएको छ ।