• १ असार २०८२, आइतबार

संरक्षणको पर्खाइमा शर्मालीगढी किल्ला

blog

बैतडी समाचारदाता 

बैतडी, मङ्सिर ५ गते  । नेपाल एकीकरण र अङ्ग्रेजसँगको युद्धका बेला निर्माण भएको शर्मालीगढी किल्लाको संरक्षण नहुँदा यहाँ रहेका महत्वपूर्ण ढाल–तरबार र पुराना तोप हराएका छन् । सामरिक महत्वका दृष्टिले प्रसिद्ध मानिएको शर्मालीगढी किल्ला संरक्षण गर्ने उद्देश्यले डिपिआर बने पनि बजेट विनियोजन नगरिँदा काम अघि बढ्न नसकेको हो । 

बैतडीको शिवनाथ गाउँपालिका–२ मा रहेको ऐतिहासिक शर्मालीगढी किल्ला सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल–अङ्ग्रेज युद्धका बेला निर्माण भएको थियो । अङ्ग्रेजसँगको लडाइँका बेला डडेलधुराको अमरगढी किल्लाबाट बैतडीको शर्मालीगढी हुँदै तत्कालीन सेना नालापानी गएको बताइन्छ । 

किल्लाको पुनर्निर्माण गर्न गाउँपालिकाले चार वर्षअघि डिपिआर तयार गरेर पर्यटन मन्त्रालय र पुरातत्व विभागमा पेस गरे पनि बजेट नआउँदा संरक्षणको काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो । डिपिआरमा किल्लाको संरक्षण, पदमार्ग, कोतखाना निर्माण र किल्ला वरिपरि पानीको तलाउ भएको पर्खाल निर्माण गर्न योजना बनाइएको छ । किल्लाको मौलिकता जे जस्तो हो त्यही स्वरूपमा पुनर्निर्माण गर्न करिब चार करोड रुपियाँको लागतमा डिपिआर तयार भएको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “शर्मालीगढीमा रहेको किल्लाभित्रको हतियार राख्ने ठाउँ जीर्ण बनेर भत्केपछि किल्लाका ढुङ्गा छरपस्ट अवस्थामा छन् । किल्ला संरक्षण गर्न नेपाली सेनाको अगुवाइमा किल्लासम्म पुग्ने २६३ मिटर बाटो बनाइए पनि किल्ला पुनर्निर्माण गर्न बजेट नै आउँदैन ।”  समुद्री सतहबाट १४७५ मिटर उचाइमा रहेको शर्मालीगढीको किल्लालाई स्थानीयले अमरगढी किल्ला पनि भन्ने गरेका छन् । यो किल्लाबाट डडेलधुरास्थित अमरगढी किल्ला र भारतको पिथौरागढसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।