भक्तिविलास पोखरेल
गाईघाट, मङ्सिर ५ गते । उदयपुरको चौदण्डिगढी नगरपालिका –१० स्थित मदन भण्डारी राजमार्गसँग हडिया र देवधारलाई जोड्नेगरी त्रियुगा नदीमा पक्की पुल निर्माणको काम तीव्र बनेको छ ।
त्रियुगाकै सिवाही, बेलकाको गिदेरीखोला, धाप्लाङ सुनकोशीलगायतका जिल्लाभित्रका अन्य कतिपय ठुला पक्की पुलको निर्माण कार्य वर्षौंदेखि अलपत्र परिरहेको भए पनि हडिया देवधारको यो त्रियुगा पुल निर्धारित समय सिमाभन्दा एकवर्ष अगावै सम्पन्न गर्नेगरी निर्माण कम्पनीले काम अघि बढाएको पुल सेक्टर धरानका आयोजना प्रमुख इन्जिनिएर दारोगाप्रसादले बताउनुभयो ।
नेपाल सरकार सडक विभागको पुल महाशाखाले डिजाइन एण्ड ब्रिज मोडेल अन्तर्गत मदन भण्डारी राजमार्गको गाईघाट बेल्टार खण्डको देवधारमा हडिया क्षेत्रलाई जोड्ने गरी २०७९ साल मङ्सिर २१ गते ठेक्का सम्झौता गरेर सो पुलको निर्माण कार्य सुरु गरेको थियो ।
बिभागको पछिल्लो नीतिअनुसार निर्माण व्यवसायीले नै माटो परीक्षण, वातारणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्ने र लागत इष्टिमेटका आधारमा बजेट सुनिश्चित भएपछि तोकिएको समयसीमाभित्र पुल निर्माण गरिसक्नेगरी डिजाइन स्वीकृत भए अनुसार नै हडिया देवधार जोड्ने त्रियुगा पुलको निर्माण धमाधम अगाडि बढाइएको निर्माण कम्पनीका निर्देशक उमेश श्रेष्ठले बताउनुभयो ।
विभागको पुल सेक्टर धरानका इन्जिनिएर दारोगाप्रसादका अनुसार सूर्य एण्ड सन्स प्रालि. निर्माण कम्पनी धरान सुनसरीले ४० करोड ३४ लाख ८८ हजार आठसय रुपियाँको लागतमा दुवैतर्फको गरी छसय ५० मिटर लामो एप्रोच सडकसहितको तीनसय २० मिटर लम्बाइ तथा ११ मिटर चौडाइको उच्च गुणस्तरको दुई लेनको पाएलस फाउण्डेशन डिजाइनमा सो मोटरेबल पक्की पुल निर्माणको काम गर्दैआएको छ ।
निर्माण कम्पनीले ४२ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरीसक्ने गरी ठेक्का सम्झौता गरेअनुसार काम अगाडि बढाएको तर सरकारले क्रमागत रुपमा कम्तीमा पनि प्रतिवर्ष १४ करोड रुपियाँ उक्त पुल निर्माणका लागि विनियोजन गर्नुपर्नेमा एकदम न्यून रकम विनियोजन गरेकाले निर्माणको काम बिचैमा अलपत्र हुनसक्ने स्थिति रहेको पुल सेक्टर धरानका योजना प्रमुख दारोगाप्रसादले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०८०–८१ का लागि सरकारले एक करोड ४१ लाख रुपियाँ मात्र यो पुल निर्माणको लागि राखेको र सो रकम त के दुई करोडभन्दा बढी रकमको काम सम्पन्न गरेर भुक्तानीको लागि निर्माण कम्पनीले कार्यालयमा बिल बुझाएको महिनौ हुँदा पनि रकम अभावमा भुक्तानी दिन नसकिएकाले अब निर्माणको काम अगाडि बडाउन नसकिने उहाँले बताउनुभयो ।
सरकारले थप बजेट उपलब्ध गराउन नसके अब काम अगाडि बढाउन आर्थिक रुपले असहज भएको छ । तर विभागले थप रकम उपलब्ध गराउने आश्वासन दिएकाले अहिले नै निराश हुनुपर्ने अवस्था भइनसकेको र बजेट अभाव नहुने हो भने चालु आवको असार मसान्तसम्ममा फाउण्डेशनको काम सम्पन्न गरी वारिपारि दुवैतर्फ २०–२० मिटर स्पान ढलानत गर्नेगरी अहिले युद्धस्तरमा निर्माणको काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
पुलबारे व्यापक दुविधा हुँदैआएको भए पनि अब त्यस्तो दुविधा नरहेको स्थानीय बासिन्दा एवम चौदण्डिगढी नगरपालिका १० का वडाध्यक्ष धर्मराज खड्काले बताउनुभयो । त्यसका लागि बजेट अभाव नहुने वडाध्यक्ष खड्काले बताउनुभयो ।