मार्तडी समाचारदाता
मार्तडी (बाजुरा), मङ्सिर ५ गते । बाजुराको स्वामिकार्तिक गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनको क्रममा चुनावी सरगर्मी बढ्न थालेका छन् । नेता तथा कार्यकर्ताले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । सो पालिकाको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेपछि केन्द्रदेखि जिल्ला स्तरका नेता तथा कार्यकर्ता जिल्लामा केन्द्रित भएर प्रचारप्रसारमा लागेका छन् । अहिले नेपाली कांग्रेका नेता तथा निवर्तमान सुदूरप्रश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, पूर्वराज्यमन्त्री जनकराज गिरी, प्रदेश सभा सदस्य जुना दानी कांग्रेसका उम्मेदवारको चुनावी प्रचारप्रसारमा लाग्नुभएको छ ।
त्यस्तै एमालेका पक्षमा पूर्वउद्योगमन्त्री कर्णबहादुर थापा, प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, हालका प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीलगायत नेता चुनावी घरदैलोमा हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) का पूर्वराज्यमन्त्री कर्णबहादुर विक (केशव) लगायतका माओवादी नेता आफ्नो उम्मेदवार जिताउन लाग्नुभएको छ ।
समाजवादीले पनि सुदूरप्रश्चिम प्रदेशका पूर्वअर्थमन्त्री नरेश शाहीलगायतका केन्द्रीय नेतालाई चुनावी प्रचारमा लगाएको छ । पाँच वटा दलले उम्मेदवारी दर्ता गराएर अहिले सबै राजनीतिक दल जनताको घरदैलोमा केन्द्रित भएका छन् । उपाध्यक्षको उपनिर्वाचनलाई कसरी हातमा लिने होडबाजीमा पाँच वटै राजनीतिक दलका नेता तथा कार्यकता मैदानमा आएर चुनावी प्रचारप्रसारमा लागेको कांग्रेस युवा नेता दिनेश शाहीले बताउनुभयो । बाजुराका नौ स्थानीय तहमध्ये स्वामिकार्तिकको उपाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुनुभएकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि सो पद रिक्त रहेकाले निर्वाचन हुन लागेको हो । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेकी पुल्तीसरा शाहीले स्वर्गीय जोशीले जनतासँग गरेका अधुरा प्रतिबद्धता पूरा गर्न उम्मेदवारी दिएको बताउनुभयो ।
नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएकी सुलोचना बुढा २०७९ को निर्वाचनमा स्व. मैना जोशीसँग प्रतिस्पर्धा गरेर पराजित हुनुभएको थियो । उहाँलाई न्याय गर्नका लागि पुनः पार्टीले उम्मेदवार बनाएको सो पार्टीले जनाएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट उपाध्यक्षका उम्मेदवार राजुकुमारी लामो समयदेखि राजनीतिमा लाग्नुभएको थियो भने एकीकृत (समाजवादी) पार्टीका उम्मेदवार जवा शाही पहिलो पटक उपनिर्वाचनमा होमिन लाग्नुभएको हो । प्रजातन्त्र पार्टी नेपालका तर्फबाट सुनादेवी थापा भोटे धामी लामो समयदेखि राजनीतिमा सक्रिय रूपमा लाग्दै आउनुभएको छ ।