गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ५ गते । प्रेरणापुरुष कवि दैवज्ञका नाममा प्रदान गरिँदै आएको सम्मान तथा पुरस्कार विभिन्न साहित्यकार एवं संस्थालाई प्रदान गर्ने घोषणा भएको छ ।
वरिष्ठ कवि गीतकार कालीप्रसाद रिजाल (सुनसरी/काठमाडौँ) लाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, कवि श्रीकृष्ण न्यौपाने (लमजुङ) लाई दैवज्ञ साहित्य पुरस्कार, कवयित्री एवं बालसाहित्य स्रष्टा प्रभा भट्टराई आचार्य (तनहुँ/काठमाडौँ) लाई दैवज्ञ बालसाहित्य पुरस्कार र परोपकार अभियान समूह, विराटनगर महानगरपालिका–३ (मोरङ) लाई दैवज्ञ समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ ।
कवि दैवज्ञराज न्यौपानेको ८३ औँ जन्मजयन्ती तथा १३ औँ स्मृति दिवसको अवसर पारेर मङ्सिर ३० गते काठमाडौँमा आयोजना गरिने समारोहमा उक्त सम्मान एवं पुरस्कार प्रदान गरिने छ । सम्मानबापत ५५ हजार ५५५ तथा पुरस्कारबापत जनही ३३ हजार ३३३ रुपियाँ र सम्मानपत्र प्रदान गरिने छ ।