कविराज घिमिरे
हिले, मङ्सिर ५ गते । नेपालीमा ‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ भने जस्तै यस वर्ष पूर्वी नेपालमा अलैँचीको मूल्यमा चरितार्थ भएको छ । लामो समयसम्म न्यून रहेको अलैँचीको मूल्य पुनः एक लाख रुपियाँ प्रतिमन पुग्न १२ वर्ष लाग्यो ।
२०६९ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजारबाट ओरालो लागेको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको थियो । अत्यधिक न्यून मूल्य सामना गर्दै आएको अलैँचीको मूल्यको ग्राफ अहिले भने बढ्न थालेको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । गत वर्ष करिब ६० हजार रुपियाँ प्रतिमनसम्म पुगेकोमा आइतबार एक लाख दुई हजार प्रतिमन पुगेको उहाँको भनाइ छ । उत्पादन कम र ठुला व्यापारीले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको शाहको तर्क छ ।
अहिले अलैँची उत्पादन हुने सिजनको अन्तिम समय हो । अधिकांश कृषकले अलैँची बिक्री गरिसकेका छन् । यस वर्ष अधिकांश कृषकले सिजनमा प्रतिमन ८० देखि ९० हजार रुपियाँ प्रतिमन अलैँची बिक्री गरेका थिए तर अन्तिमतिर आइपुग्दा मूल्य एक लाख नाघेको पाख्रिबास नगरपालिका–२ का अलैँची कृषक निर्मल स्याङ्देनले बताउनुभयो ।
अघिल्ला वर्षमा कृषकको उत्पादन सकिएसँगै मूल्य बढ्ने र कृषकको उत्पादन हुन थालेपछि मूल्य घट्ने गरे पनि यस वर्ष भने नयाँ अलैँची उत्पादन हुँदा देखि नै निरन्तर उकालो लागेको थियो । अलैँची उत्पादन हुने पहिलो सिजन भदौमा करिब ८० हजार रुपियाँ प्रतिमन थियो ।
उत्पादनमा आएको कमी तथा माग वृद्धिका कारण मूल्य बढेको हुन सक्ने अनुमान कृषि ज्ञान केन्द्र धनकुटाको छ । अलैँचीको बजार र मूल्य भारतमा भर पर्ने भएकाले भारतमा उत्पादन घटे मात्र नेपालको अलैँचीले भाउ पाउने केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो । धनकुटामा करिब चार दशकयता अलैँचीको खेती हुँदै आएको छ । जिल्लामा वार्षिक करिब ११२ हेक्टर क्षेत्रफलबाट ३६ मेट्रिक टन अलैँची उत्पादन हुने गरेको छ । धनकुटामा आव २०७४/७५ मा सबैभन्दा धेरै क्षेत्रफलमा अलैँची खेती भएको थियो ।