• ४ मंसिर २०८१, मङ्गलबार

विद्यालय पुनर्निर्माण प्रारम्भ

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, मङ्सिर ४ गते । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा असोजको दोस्रो सातामा गएको बाढीपहिरोले क्षति गरेको सामुदायिक विद्यालय भवनको पुनर्निर्माण सुरु भएको छ । उक्त गाउँपालिकामा सुनकोशी नदीको बाढीले क्षति गरेको तीन वटा सामुदायिक विद्यालयमध्ये वडा नं. ३ स्थित कुशेश्वरी प्रावि मुर्कीबेँसीको भवन पुनर्निर्माण थालेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार सुनकोशी नदीमा आएको बाढीले पुरेर उक्त विद्यालयको भवन ध्वस्त बनाएको थियो । भवनको अभावमा विद्यालयमा अहिलेसम्म पठनपाठन कार्य अवरुद्ध छ ।

उक्त गाउँपालिकामा सुनकोशी नदीको बाढीले तटीय क्षेत्रमा रहेका वडा नं. १ स्थित आधारभूत विद्यालय च्याकुटारबँेसी, वडा नं. ३ स्थित आधारभूत विद्यालय मुर्कीबेँसी र वडा नं. ६ स्थित आधारभूत विद्यालय बलेनी डुबानमा परी पूर्ण रूपमा क्षति पुगेको थियो ।  गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले दातृ निकाय ब्याक टु लाइफ इभी जर्मनीको सहयोगमा कुशेश्वरी प्रावि मुर्कीबेँसीको भवनको शिलान्यास गरेर छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी विद्यालयको पूरै नयाँ संरचना निर्माण थालिएको जानकारी दिनुभयो । समुदाय पद्धति विकास सेवाको समन्वयमा भ्याटसहित एक करोड १३ लाख छ हजार ५८४ रुपियाँको लागतमा उक्त विद्यालय भवन निर्माण गर्ने गरी ब्याक टु लाइफ इभी जर्मनीले सहयोग गरेको हो ।

विद्यालयमा भवनको अभावमा तिहारपछि मासिक चार हजार रुपियाँ दिने गरी व्यक्तिको घर भाडामा लिएर पठनपाठन सुरु गरिएको छ । उक्त विद्यालयमा स्थानीय ३० घरधुरीका १६५ जना विद्यार्थी अध्ययनरत रहेको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोले जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा गरी २५ वटा विद्यालयको भवन क्षति गरेको छ । तीमध्ये पाँच वटा विद्यालयका सबै भवन पूर्ण रूपमा र २० वटा विद्यालयमा आंशिक क्षति भएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ ।