• २ माघ २०८१, बुधबार

अयोध्यामा तिलकोत्सव समारोह

blog

लक्ष्मी चौधरी

जनकपुरधाम, मङ्सिर ४ गते  । त्रेता युगमा भगवान् राम र सीताको विवाहलाई स्मरण गर्दै जनकपुरधाममा मनाइने साताव्यापी विवाह पञ्चमी महामहोत्सवको तिलकोत्सव समारोह अयोध्याधाममा सम्पन्न भएको छ । सोमबार मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह तथा राम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत रायको उपस्थितिमा भारतको उत्तर प्रदेशस्थित राम जन्मभूमि अयोध्याधाममा तिलकोत्सव समारोह सम्पन्न भएको हो । राम र सीताको विवाहसँग जोडिएको महìवपूर्ण धार्मिक तथा संस्कृति कार्यका रूपमा तिलकोत्सव समारोहलाई लिने गरिन्छ । 

विश्व हिन्दु परिषद् नेपालको नेतृत्वमा मुख्यमन्त्री सिंहसहितको टोली सीताको माइती अर्थात् नेपालको जनकपुरधामबाट आइतबार तिलकोत्सवको कोसेलीसहितको निमन्त्रणा लिएर अयोध्या प्रस्थान गरेका थिए ।  

अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहकाबिच मधेशका मुख्यमन्त्री सिंहले जनकपुरधाममा हुने सप्ताहव्यापी विवाह पञ्चमीमा महोत्सवमा सहभागीको आमन्त्रणसमेत गर्नुभयो । उहाँले राम र सीताको विवाहले दुई राष्ट्रबिचको सम्बन्ध त्रेता युगदेखि कायम रहेको हुँदा उक्त सम्बन्धलाई अझ प्रगाढ बनाउन जनकपुरधाममा अयोजना हुने साताव्यापी विवाह महोत्सवमा सहभागी हुन राम जन्मभूमिका महासचिव चम्पत रायसहितलाई आग्रहसमेत गर्नुभयो । मुख्यमन्त्रीले भन्नुभयो, “सीताबिना राम अधुरा ।”

यस्तै राम जन्मभूमिका महासचिव चम्पत रायले पूर्वजले निरन्तरता दिँदै आएको परम्परालाई हामीले पनि निरन्तरता दिँदै रामसीताको विवाहको स्मरणमा मनाइने विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाउने बताउनुभयो । उहाँले मुख्यमन्त्री सिंहको आमन्त्रणलाई स्वीकार गर्दै भन्नुभयो, “जनकपुरधामको विवाह पञ्चमी महोत्सवमा जन्तीका रूपमा सहभागी हुन अयोध्याबाट आउने छौँ ।” 

तिलकोत्सव समारोहमा नेपालबाट प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री मोहम्मद सकिल अलि मियाँ, वन तथा वातावरणमन्त्री त्रिभुवन साह, श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय, जनकपुरधामका प्रमुख मनोजकुमार साह, विश्व हिन्दु परिषद् नेपालका पदाधिकारीसहितको सहभागिता रहेको थियो भने अयोध्याबाट आयोध्याधाम नगर निगमका महापौण गिरीशपति त्रिपाठी र वावन मन्दिरका महन्त विदेही बल्लभशरणसहितको उपस्थिति रहेको थियो ।