गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ४ गते । लामो समयदेखि खानाको अध्ययनमा जुटिरहनुभएका सेफ विक्रम वैद्यको पाककलासम्बन्धी पुस्तक ‘दी मिस्टिक किचेन्स अफ नेपाल’ का बारेमा पुस्तक वार्ता भएको छ । सो पुस्तकमा नेपालका लोकप्रिय र प्रचलित खानाका परिकारका साथै नेपाली संस्कृति र इतिहासलाई पनि कोट्याइएको छ । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेवार परिकार आफूलाई अत्यन्त मनपर्ने परिकारमध्येमा पर्ने र नेवार समुदायको परिकारलाई नै पुस्तकमा विशेष महत्वका साथ प्रस्तुत गर्नुभएकाले लेखकलाई धन्यवाद दिनुभयो । उहाँले नेवार परिकार खाना मात्र नभई नेवार संस्कृतिको अभिन्न अङ्ग भएको र यसको सुन्दर प्रस्तुति पुस्तकमा गरिएको चर्चा गर्नुभयो ।
यसै गरी सेफ गोविन्द नरसिंह केसीले आफूले पनि नेवार परिकार बनाउने भए पनि वास्तविक स्वाद दिन गाह्रो भइरहेको अवस्थामा वैद्यको यो पुस्तक सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सेफ वैद्यले आफ्नो पुस्तक २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम भएको बताउनुभयो । “दी मिस्टिक किचेन्स अफ नेपाल’ भनेको कुक बुक मात्र होइन, यो माटो र समुदायको आत्माको माध्यमबाट खाना, संस्कृति र समुदायबिचको गहिरो सम्बन्धको सङ्गम हो,” वैद्यले भन्नुभयो । सोही अवसरमा उहाँले प्रतिष्ठित जेम्स ब्रेड अवार्डका लागि आफ्नो पुस्तकको मनोनयन स्वीकृत भएको पनि जानकारी दिनुभयो ।
नेपालको विविध परिदृश्य र संस्कृतिसँग सम्बन्धित १४० भन्दा बढी मौलिक ‘रेसिपी’ ‘दी मिस्टिक किचेन्स अफ नेपाल’ समावेश गरिएको छ ।