• ४ मंसिर २०८१, मङ्गलबार

‘नक्कली बीमा दाबी भुक्तानी माग गर्नेलाई कार्वाही हुन्छ’

blog

दमक अस्पतालको नयाँ सुविधायुक्त शल्यक्रिया कक्षको उदघाटन गर्दै मन्त्री पौडेल ।

बिष्णुप्रसाद पोखरेल

दमक, मङ्सिर ३ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नक्कली बीमा दाबी भुक्तानी गर्ने अस्पतालको दर्ता खारेजी र यसमा संलग्नहरुलाई कार्वाही गरिने बताउनुभएको छ । 

आइतवार साँझ सरकारी दमक अस्पतालको निरीक्षण गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । अस्पतालमा उपचार नै नगरी उपचार गरेको देखाउने, धोरैको उपचार गरेको धेरै बिल बनाएर पठाउने कार्य गर्ने गरेको पाइएको बताउदै मन्त्री पौडेलले यस्तो कार्य रोकिने स्पष्ट पार्नुभयो । 

नक्कली बीमा दाबी भुक्तानी गर्नेहरुको सम्बन्धन खारेजी नगरेसम्म र यस्तो कार्यमा संलग्नलाई जेल नहालेसम्म यस प्रकरको समस्या आइरहने उहाँले बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्डले गरेको व्यवस्थाअनुसार १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह–भुक्तानी (को–पेमेन्ट) प्रणालीलाई ब्यवस्थित गर्ने र नक्कली बीमा दाबी भुक्तानी गर्ने प्रवृतीलाई रोक्ने आफुहरुको योजना रहेको बताउनुभयो । कम्तिमा ५ लाखसम्म बीमाको सीमा बढाउने र सह–भुक्तानीलाई ७ प्रतिशत पुगाउने लक्ष्य छ, उहाँले भन्नुभयो ।

बीमालाई प्रभावकारी बनाउनका लागि सबैको योगदान जरुरी रहेकाले योगदानमा आधारित रहेर बिमा सेवालाई प्रभावकारी बनाउने बिषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । स्वास्थ्य सेवा स्थानीय, प्रदेश र संघीय सरकारको नै दायित्व रहेकाले सबै मिलेर यसलाई ब्यवस्थित गर्नु पर्नेमा उहाँको जोड थियो ।

सो अवसरमा मन्त्री पौडेलले दमक अस्पतालले बनाएको सुविधासम्पन्न शल्यक्रिया कक्षको उदघाटन पनि गर्नुभयो । उहाँले सरकारी अस्पतालको सेवालाई ब्यवस्थित र गुणस्तरीय बनाउनका लागि सरकार लागि परेको बताउनुभयो । 

नगर प्रमुख रामकुमार थापाले दैनिक १ हजारभन्दा बढि बिरामीहरु आउने दमक अस्पतालमा डायलसिस मेशिन र सिटी स्क्यान मेशिन आवश्यक रहेको बताउदै उपलब्ध गराइदिन माग गर्नुभयो ।