• ३ मंसिर २०८१, सोमबार

‘सिँचाइका लागि बजेट व्यवस्था हुन्छ’

blog

सिँचाइ आयोजनाको अनुगमन गर्दै लुम्बिनी प्रदेश उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सिता चौधरी ।

लीलाधर वली

घोराही, मङ्सिर ३ गते । लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सिता चौधरीले बबई गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न सिँचाइ आयोजनाको अनुगमन गर्नुभएको छ ।

सोमवार मन्त्री चौधरीले बबई गाउँपालिकामा पर्ने विभिन्न चार सिँचाइ आयोजनाको अनुगमन गर्नुभएको हो । बर्षाको समयमा क्षति भएका र प्रदेश सरकारमार्फत निर्माण थालिएका विभिन्न सिँचाइ आयोजनाको अनुगमन गर्दै मन्त्री चौधरीले सिँचाइ आयोजना निर्माणका लागि बजेटको कमी हुन नदिने बताउनुभयो ।  

कृषि व्यवसायका लागि सिँचाइ आवश्यक पर्ने र सिँचाइविना कृषि व्यवसाय गर्न नसकिने भएकाले बर्षातको समयमा विग्रिएका आयोजनाको मर्मत सम्भारका लागि बजेट व्यवस्थापन हुने बताउनुभयो ।

सिँचाइ आयोजनाको अनुगमन गर्दै मन्त्री चौधरीले भन्नुभयो, ‘कृषिको आधुनीकरणका लागि यान्त्रीकरण, उन्नत जातको वीउविजनसँगै सिँचाइको आवश्यकता छ । त्यसका लागि प्रदेश सरकारको तर्फबाट सहयोग गर्नेछु ।’

मन्त्री चौधरीले बबई गाउँपालिका –५ मा रहेको ट्वाङखोला रोल्पालीतारा सिँचाइ जल उपभोक्ता समूहको कुलो, बबरपुर सिँचाइ कुलो, च्याटीखोला पूर्व हापुरे सिँचाइ कुलो र बबई गाउँपालिका –७ मा रहेको मठेउरी सिँचाइ कुलोको अनुगमन गर्नुभएको थियो ।  

चार वटा कुलाले सयौँ बिघा जग्गामा सिँचाइ हुने भन्दै मन्त्री चौधरीले सबै सिँचाइ आयोजना सफल बनाउन बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । प्रदेश सरकारले प्रत्येक नागरिकको खेतबारीमा सिँचाइ पुगाउने लक्ष्य लिएको बताउँदै मन्त्री चौधरीले बबईमा रहेका ठूलो सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गर्ने बताउनुभयो ।  

अनुगमनका क्रममा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख कृष्णबहादुर बिक, बबई गाउँपालिकाका पूर्वअध्यक्ष भुबनेश्वर पौडेल, बबई गाउँपालिका कार्यपालिका सदस्य नारायण परियार लगायतको सहभागिता थियो ।