• १२ पुस २०८१, शुक्रबार

एन्टिबायोटिकको दुरुपयोग रोक्न प्रधानमन्त्रीको आग्रह

blog

प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौँ, मंसिर ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिजैविक प्रतिरोध (एन्टिबायोटिक) औषधीको असरलाई न्यूनीकरण गर्न (फैलावट रोक्ने) आफ्नो तहबाट सक्दो पहल गर्न सबैसँग आग्रह गर्नुभएको छ । विश्व प्रतिजैविक सचेतना सप्ताह २०२४ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । 

साथै प्रधानमन्त्री ओलीले प्रतिजैविक प्रतिरोधको बारेमा आफू र आफ्नो परिवार तथा समुदायलाई प्रशिक्षित गराउने प्रतिबद्धता गर्न अनुरोध गर्नुभएको छ । 

सबैको संयुक्त प्रयासले मात्र यसको चुनौतीको सामना गर्न सकिने हुँदा सबै सरोकारवाला निकायलाई सहकार्य गर्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभएको हो ।  

“प्रतिजैविक प्रतिरोध अर्थात् सङ्क्रमणको उपचारमा प्रयोग हुने औषधीले उपचारको क्रममा आवश्यक परेको अवस्थामा प्रभावहीन हुने अवस्था हो । नेपाल प्रतिजैविक प्रतिरोधको बढ्दो समस्याबाट अछुतो छैन । यो समस्या मानव स्वास्थ्यको मात्र  विषय नभई पशु स्वास्थ्य, कृषि, खाद्य तथा वातावरणको लागि पनि चुनौती बनिरहेको छ” उहाँले थप्नुभयो, “प्रतिजैविक प्रतिरोध मानव, पशु र कृषिमा एन्टिबायोटिकको अत्यधिक प्रयोग र दुरुपयोगसँग जोडिएको हुँदा यो समस्या न्यूनीकरण तथा रोकथाम गर्न सबै क्षेत्र र निकाय एकजुट हुन अनिवार्य भएको छ ।”  

प्रतिजैविक प्रतिरोधले विश्वव्यापी रूपमा पारिरहेको असरलाई सम्बोधन गर्न ७७ औँ विश्व स्वास्थ्य सभा तथा संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा प्रतिजैविक प्रतिरोधसम्बन्धी उच्चस्तरीय बैठकमा सरकारले प्रतिबद्धता जाहेर गरेको छ ।  

प्रधानमन्त्री ओलीका अनुसार यसै वर्षदेखि एक स्वास्थ्य अवधारणाअनुरूप सबै क्षेत्रबाट प्रतिजैविक प्रतिरोध सम्बोधनका लागि आवश्यक पहल गर्न सरकारले राष्ट्रिय प्रतिजैविक प्रतिरोध कार्य योजना पारित गरी लागु गरिसकेको छ ।