• १२ पुस २०८१, शुक्रबार

तनहुँबाट ४० करोडको सुन्तला विक्री

blog

ठेलामा बिक्रीका लागि राखिएका सुन्तला । तस्बिर: अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ३ गते । सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्य आम्दानी गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा यहाँका किसानले ४० करोड रुपियाँ हात पारेका छन्  ।  

११ हजार पाँच सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा उक्त रकम हात पारेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । गत वर्ष ४० करोड हात पारेको र यस वर्ष क्षेत्रफलमा वृद्धि हुँदा उत्पादन बढ्ने र मूल्य पनि वृद्धि हुँदा करिब ५० करोड आम्दानी गर्ने सम्भावना रहेको केन्द्रका सूचना अधिकारी किरण परियारले बताउनुभयो । केन्द्रले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कृषकलाई प्रोत्साहन गर्न बगैँचामै पुगेर पनि आवश्यक परामर्श दिइने गरिएको छ ।

कार्यालयबाट सुन्तला खेतीका लागि क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तला खेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । लामिछानेका अनुसार जिल्लामा हाल आठ वटा ब्लकमा सुन्तला खेती हुँदै आएको छ । ब्लक बन्नको लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान रहेको छ । ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति,समूह र सहकारी मार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ ।

ब्लकमा सुन्तला खेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारी मार्फत कलष्टर बनेर आउनु पर्ने प्रावधान  रहेको छ । जिल्लाको व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्ल गण्डकी र बन्दीपुर गाउँपालिका सुन्तला खेतीका लागि पकेट क्षेत्रको रूपमा रहेका छन् । खाल्टो खन्न, सिँचाइको लागि पोखरी बनाउन, अनावश्यक हाँगाहरू काट्ने मेसिन तथा घरदैलोमा नै पुगेर प्राविधिक ज्ञान दिने गरिएको लामिछानेको भनाई छ ।

तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढ, विराटनगर लगायत ठुला सहरमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै आँबुखैरेनी, डुम्रे, दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायतका स्थानीय बजारहरूमा समेत यहाँको सुन्तला बिक्री हुने गरेको केन्द्रले जनाएको छ ।