• २८ पुस २०८१, आइतबार

नौ पदका लागि उत्साहजनक मनोनयन

blog

ग्रामथान गाउँपालिका अध्यक्षका उम्मेद्वारहरू (बायाँबाटक्रमशः) कांग्रेसका बलराम सरदार, एमालेका तुलसीराम विश्वास र माओवादी केन्द्रका नमोनारायण माझी ।

कोशी प्रदेश ब्युरो

विराटनगर, मङ्सिर ३ गते । कोशी प्रदेशका विभिन्न सात जिल्लाका नौ वटा पदका लागि आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । 

ग्रामथान अध्यक्ष पदमा सोह्र जनाको उम्मेदवारी 

विराटनगर समाचारदाता शशिधर पराजुलीका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा उत्साहका साथ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गाउँपालिका अध्यक्षका लागि ग्रामथानमा १६ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राजनीतिक दलका तर्फबाट १५ जना र एक जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

उपनिर्वाचनलाई राजनीतिक दलले जनमत सर्वेक्षणका साथै प्रतिष्ठाको विषय बनाउँदै मनोनयन दर्ता गराउने व्रmममा शक्ति प्रदर्शनसमेत गरेका छन् । मनोनयन दर्ता गराउन पुगेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसनलगायतका दल झाँकीसहित ग्रामथानस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । दलका कार्यकर्ता ले आआफ्नो दलका उम्मेदवारको पक्षमा नाराबाजी तथा नाचगान गरी उपनिर्वाचनको माहोललाई उत्साहपूर्ण बनाएका थिए । 

कोशी प्रदेशको विभिन्न जिल्लामा नौ पदका लागि उपनिर्वाचन हुँदै छ । त्यसमध्ये पालिका अध्यक्ष पदका लागि एक मात्र ग्रामथान गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो । 

उपनिर्वाचनका लागि आइतबार नेपाली कांग्रेसका पुराना स्थानीय नेता बलराम सरदार थारूले अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभयो । 

यसै गरी नेकपा (एमाले) का तर्फबाट तुलसीराम विश्वासले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँ २०७९ सालको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसबाट नेकपा (एमाले) मा प्रवेश गर्नुभएको थियो । यस्तै नेकपा (माओवादी केन्द्र) बाट ग्रामथान–१ का पूर्ववडाध्यक्ष नमोनारायण माझीले उम्मेदवारी दर्ता गराउनुभएको छ । माझी तीन महिनाअघि नेपाली कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । प्रमुख तीन राजनीतिक दलकै उम्मेदवारहरू नेपाली कांग्रेस पृष्ठभूमिका रहेका कारणले पनि यस पटक ग्रामथानको निर्वाचन रोचक बन्ने स्थानीयको अनुमान छ । 

यसै गरी ग्रामथानमा राष्ट्रिय स्वतन्त्र पार्टीका नवीनकुमार खवास, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दिनेशकुमार थान्दारले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट दिलबहादुर विश्वकर्माले उम्मेदवारी दर्ता गराउनुभयो भने नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारूले उम्मेदवारी दिनुभएको छ । 

यस्तै जनता समाजवादी पार्टी नेपालका सुरेशकुमार राजवंशी, जनमत पार्टीका विनोदकुमार माझी, कमल थापा नेतृत्वको राप्रपा नेपालका राजु मुसहर, मङ्गोल नेसनल अर्गनाइजेसनका भरत राई, समावेशी समाजवादी पार्टीका बोधनारायण माझी, नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी थारू, नेपाल मजदुर किसान पार्टीका पर्शुराम विश्वास थारूले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

यसै गरी अध्यक्ष पदमा दुई जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । नेकपा (एमाले) को नेताका रूपमा चिनिनुभएका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । 

त्रियुगा र बेलकामा पनि उम्मेदवारी दर्ता 

गाईघाट समाचारदाता भक्तिविलाश पोखरेलका अनुसार त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

बिहान १० बजेबाट सुरु भएको मनोनयन दर्तामा सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष एक पदका लागि नौ जनाले उम्मेदवारी दिनुभएको छ । जस अनुसार नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरी, रास्वपाका धु्रव पोखरेल, नेपाली कांग्रेसबाट सञ्जीव काफ्ले, नेकपा (एमाले) बाट लक्ष्मीनारायण चौधरीे र नेकपा माओबादीबाट नवीन राईले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी राप्रपाबाट लालबाबु साह, नेकपा समाजवादी का निर्मलाकुमारी चौधरी, जनमत पार्टीबाट प्रमोद सहनी तथा स्वतन्त्र बजरङ्गीकुमार दाससमेत गरी नौ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताउनुभयो । बेलका नगरपालिका–९ मा विभिन्न सात जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जस अनुसार नेपाली कांग्रेसबाट नवराज बस्नेत, नेकपा (एमाले) बाट मोहन खड्का, नेकपा माओवादीबाट भरत घिमिरे, जसपाबाट रामकुमार राई, रास्वपाबाट तेजमान विक, राप्रपाबाट टीकाप्रसाद फुयाँल र नेसनल अर्गनाइजेसन पार्टीबाट सुरेश तामाङले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको हो ।

गढीमा चौध जनाको मनोनयन दर्ता

इनरुवा समाचारदाता जयकृष्ण यादवका अनुसार सुनसरीको गढी गाउँपालिका–६ नम्बर वडामा वडाध्यक्ष पदका लागि १४ जनाको मनोनयन दर्ता भएको छ । उपनिर्वाचनमा गढी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि आइतबार  नेकपा (एमाले) बाट सन्तु उराँव, जनता समाजवादी पार्टी र नेकपा (माओवादी केन्द्र) बाट संयुक्त उम्मेदवार कुशेश्वर खेरवार यादव, नेपाली कांग्रेसबाट तेतर साह, नेकपा (एकीकृत सामाजवादी) बाट डोमी उराँव, नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, राप्रपा नेपालबाट कविताकुमारी उराँव, राप्रपाबाट बच्चालाल अरगिरया यादवसहितको मनोनयन दर्ता भएको  मुख्य  निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।

त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शशिकुमार साह, जनमत पार्टीका तर्फबाट सीताराम यादव, समाजवादी राष्ट्रिय पार्टीका योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहताले मुख्य निर्वाचन अधिकृत  कार्यालयमा उम्मेदवारी दर्ता गराएको उपाध्यायले जानकारी दिनुभयो । 

कनकाई–६ मा नौ उम्मेदवार 

बिर्तामोड समाचारदाता लीलाराज झापालीका अनुसार झापाको एक मात्र उपनिर्वाचन हुन गइरहेको कनकाई नगरपालिका–६ मा एक स्वतन्त्रसहित नौ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरी नौ जनाले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेलले बताउनुभयो । उम्मेदवारी दर्ताका लागि सबै दल र स्वतन्त्रसमेतले आफ्नो दलबलसहित निर्वाचन दर्ता स्थलसम्म पुगेका थिए । झापामा उम्मेदवारी दर्तासँगै निर्वाचनको सरगर्मी बढेर गएको छ । 

जिसस सभापतिमा कांग्रेसका एकल उम्मेदवारी 

ओखलढुङ्गा समाचारदाता शेरबहादुर राईका अनुसार ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा वडाध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ । एमालेबाट मोलुङ–५ का वडा कमिटी अध्यक्षसमेत रहेका गङ्गाबहादुर तामाङले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । यस्तै नेपाली कांग्रेसबाट घनश्याम दाहालले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा (माओवादी केन्द्र) बाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विष्णुप्रसाद पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणि दाहालले उम्मेदवारी दर्ता गराएका छन् । 

यस्तै जनता समाजवादी पार्टी जसपाबाट इन्द्रबहादुर दर्जीले उम्मेदवारी दिएका छन् । दुई जना स्वतन्त्र उम्मेदवारी हेमबहादुर सुनुवार र दीपप्रसाद दाहालले पनि मोलुङ–५ को वडाध्यक्षका लागि उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले जानकारी दिनुभयो । 

यसैबिच जिल्ला समन्वय समितिको सभापतिका लागि भने हालसम्म नेपाली कांग्रेसबाट टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत तथा निमित्त जिल्ला निर्वाचन अधिकारी विदुर बस्नेतले जानकारी दिनुभयो । जिसस प्रमुखका लागि आफ्नो उम्मेदवारी नउठाएर कांग्रेसलाई सघाउने नेकपा (एमाले) ओखलढुङ्गाले यसअघि नै निर्णय गरेको थियो ।