• ४ मंसिर २०८१, मङ्गलबार

पुस्तान्तरण हुन सकेन मारुनीनाच

blog

प्युठान समाचारदाता

प्युठान, मङ्सिर ३ गते । 

पूर्वै दिशाबाट आए हाम्रा मित

हो पिया बैँस भरियो

साउने मासमा वनै हरियो...

यो प्युठान जिल्लामा प्रचलित र लोकप्रिय मारुनीनाचको गीतको अंश हो । सांस्कृतिक तथा धार्मिक रूपमा समेत यसलाई महत्वपूर्ण मानिन्छ । पछिल्लो समय भने जिल्लामा मारुनीनाच लोप हुँदै गएको छ ।

नयाँ पुस्ताले यस्ता संस्कृतितर्फ ध्यान दिन नसक्दा मारुनीनाच लोप हुने अवस्थामा पुगेको मल्लरानी गाउँपालिका–५, कुमीकोटका भीमबहादुर मगरले बताउनुभयो ।  मारुनीनाचको सुरुवातबारे कसैलाई यकिन छैन् तर नाचमा रामायण, महाभारतका कथालाई समेत समेटिने भएकाले यो परापूर्वकालदेखि चलिआएको अनुमान गर्न सकिने मगर बताउनुहुन्छ ।

जिल्लाको धेरै गाउँमा लोप भए पनि केही ठाउँमा हालसम्म मारुनीनाचलाई संरक्षण गरिँदै आएको छ । “यो नाच लोप हुन दिनुहुन्न भनेर अहिलेसम्म हामीले जोगाइराखेका छौँ,” मगरले भन्नुभयो । यो नाच प्रदर्शन गर्न सामान्यतया नौ जना कलाकारको आवश्यकता पर्दछ । चार जना मादले, चार जना मारुनी र एक जना पुर्सुङ्गे गरी नौ जना आवश्यक पर्छ । गीत र चार जना मादलेको तालमा पुर्सुङ्गे नाच्ने गर्दछ । पुर्सुङ्गेको अगाडि दुई जना र पछाडि दुई जना मारुनी नाच्ने गर्छन् । पुर्सुङ्गेको कम्मरमा बाँधिएको पुच्छरलाई सुँध्दै मारुनी नाच्ने भएकाले ‘पुर्सुङ्गे’ भनिएको स्थानीय जानकार बताउँछन् ।

साउने सङ्क्रान्तिबाट सुरु हुने मारुनीनाच माघेसङ्क्रान्तिमा समापन हुन्छ । जिल्लाका विभिन्न ठाउँमा लाग्ने मेला, पर्वका अवसरमा मारुनी नाच्ने गरिन्छ । घर्तीका अनुसार मारुनीनाचभित्रको झुमुरा गीतमा कृष्ण चरित्र, रामायण, पैसरी, भोटेसेलो, महाभारतलगायत नाच नाच्ने गरिन्छ । नाच सिक्नसमेत अफ्ठ्यारो हुने भएकाले नयाँ पुस्ताले सिक्न नचाहेको उहाँको अनुभव छ । यस्ता सांस्कृतिक पहिचानलाई संरक्षण गर्नेतर्फ ध्यान नगएमा संस्कृति नै हराउनेमा स्थानीय चिन्तित छन् ।