• ३ मंसिर २०८१, सोमबार

लामिछानेलाई अर्को पक्राउ अनुमति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ३ गते । जिल्ला अदालत काठमाडौँले पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी बचत रकम हिनामिना अनुसन्धानका लागि पक्राउ अनुमति दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आइतबार लामिछानेलाई पक्राउ अनुमति दिएको हो । अदालतले गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पनि पक्राउ अनुमति दिएको छ ।  

गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेलाई पक्राउ अनुमति जारी भएको हो । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा लामिछाने र जोशीविरुद्ध अदालतले अनुमति दिएको अदालत स्रोतले बतायो । स्वर्णलक्ष्मी प्रकरणमा यसअघि गोर्खा मिडिया प्रालिका अध्यक्ष जिबी राईसहित २४ जनाविरुद्ध पक्राउ अनुमति प्रहरीले लिइसकेको छ । 

लामिछाने र जोशी दुवै अहिले कास्की प्रहरी हिरासतमा हुनुहुन्छ । सहकारी बचत रकम हिनामिना प्रकरणमा दुवै जना अनुसन्धानका क्रममा पक्राउ पर्नुभएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा पक्राउ पर्नुभएको हो । अनुसन्धानका क्रममा दुवै जनालाई रुपन्देही पनि पुर्‍याइएको थियो । सुप्रिम सहकारीको बचत रकम हिनामिनामा दुवै जनालाई बुटवल लगिएको थियो । सहकारी बचत रकम हिनामिनाको अनुसन्धानका लागि गठित संसदीय छानबिन समितिले गोर्खा मिडियामा रकम आएको तथ्य बाहिर ल्याएको थियो । यसपछि समितिले तत्कालीन सञ्चालकहरूलाई कारबाही सिफारिस गरेको थियो । पाँच वटा सहकारीबाट गोर्खा मिडियाको खातामा रकम सिधा जम्मा भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।