गोरखापत्र अनलाइन
काठमाडौँ, मंसिर २ गते । श्रीलङ्कामा हालै (१४ नोभेम्बर, २०२४ मा) सम्पन्न संसदीय निर्वाचनमा कम्युनिष्ट पार्टीले सानदार विजय प्राप्त गरेकोमा नेकपा (एमाले) ले खुसी प्रकट गरेको छ । ‘श्रीलङ्कामा कम्युनिस्ट पार्टीले निर्वाचनमा हासिल गरेको सफलताप्रति खुसी प्रकट गर्दछ’ एमालेले बधाई ज्ञापन गरेको हो ।
निर्वाचनमा २ सय २५ स्थानमध्ये १ सय ५९ स्थान जितेर नेसनल पिपुल्स पावर (एनपिपी) पार्टीले दुई तिहाइ बहुमत हासिल गरेकोको छ । कुशासन, राजनीतिमा हाबी, परिवारवाद र चरम आर्थिक सङ्कटविरुद्धमा दुई वर्षअघि श्रीलङ्काली जनताले गरेको आन्दोलनका कारण सत्ता परिवर्तन भई करिब दुई महिनाअघि (२१ सेप्टेम्बर २०२४) सम्पन्न राष्ट्रपतीय निर्वाचनमा एनपिपीका नेता अनुराकुमार देशनायकेको विजय र हालै सम्पन्न संसदीय निर्वाचनमा पनि सोही पार्टीको विजयले श्रीलङ्कामा राजनीतिक स्थायित्व, आर्थिक सुधार, सामाजिक न्याय र आत्मनिर्भरता अभिवृद्धि हुने विश्वास एमालेले व्यक्त गरेको छ ।
एमाले महासचिव शङ्कर पोखरेलले आइतबार वक्तव्य जारी गर्दै कम्युनिष्ट पार्टीले जनताको लोकप्रिय अभिमत र जनताको विश्वास हासिल गरेर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्न खरो उत्रिनु पर्दछ भन्ने जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको मान्यतामा दृढ विश्वास राख्दै त्यसलाई कार्यान्वयन गरिरहेको एमाले पार्टी श्रीलङ्कामा कम्युनिष्ट पार्टीले निर्वाचनमा हासिल गरेको सफलताबाट खुसी भएको उल्लेख गर्नुभएको छ ।
निर्वाचन माध्यमबाट जनताको मन जितेर सेवा गर्न सकिन्छ भन्ने कुरालाई व्यवहारमा प्रमाणित गरेर कम्युनिस्ट आन्दोलनलाई अझ लोकप्रिय र विश्वासिलो बनाउनका लागि जनता विमुक्ति पेरामुना (जेभिपी), यसको अगुवाइमा स्थापित मोर्चा एनपिपी र राष्ट्रपति अनुराकुमार देशानायकेलाई सफलता प्राप्त हुनेछ भन्ने विश्वास हाम्रो पार्टी व्यक्त गर्दछ’ विज्ञप्तिमा लेखिएको छ । सङ्कटका बेला जनताले रोजेको विकल्पलाई सही रूपमा सफल पारेर श्रीलङ्काले विश्वमै नमुना प्रस्तुत गर्न सकोस् एनलेले शुभकामना दिएको छ ।