बिन्दु थापा
पाल्पा, मंसीर २ गते । पाल्पाको तानसेन नगरपालिका वडा नं १३ की हिमानी दर्जीले १३ वर्षको उमेरमा २०५९ सालमा विवाह गर्नुभयो । आमाबुवाको काखमा खेल्ने उमेरमा विवाह गरेकी परियारको सोचेअनुसार वैवाहिक जीवन चल्न नसकेपछि उहाँले २०७९ मा जिल्ला अदालत पाल्पाबाट सम्बन्ध विच्छेद गर्नुभयो ।
पतिले मदिरा सेवन गरी कुटपिट गर्ने, मानसिक तथा शारीरिक यातना दिने, अन्य केटीसँग लागेका कारण उहाँले सम्बन्ध विच्छेद गर्नुभयो । ‘सानैमा परिवारका केही सदस्यको करकापमा लतारेर विवाह गराइदिनुभयो । मैले धेरै दुःख पाएँ, अब म ऊसँग बस्न सक्ने अवस्था रहेन । त्यसैले सम्बन्ध विच्छेद गर्नुपर्यो, श्रीमानले दिएको पीडा सहन नसकेपछि सम्बन्ध विच्छेद गरेँ’ उहाँले भन्नुभयो ।
उहाँका २ छोरा छन् । सानो छोरा १७ वर्ष र ठुलो १९ वर्षका हुनुभयो । १४ वर्षमा नै पहिलो बच्चालाई जन्माएकी दर्जीले यस्तो दिनको कल्पना गर्नुभएको थिएन । अहिले श्रीमानसँग छुटेर काठमाडौँमा कपडा पसलमा जागिर गरेर बस्न थालेको छु, उहाँले भन्नुभयो ।
बसु दर्जीको पनि सानैमा विवाह भएको थियो । उहाँका अनुसार श्रीमानको दिनरातको पिटाइ सहन नसकेर माइतीमा बसेर आफ्नो छोरी हुर्काइ रहनुभएको थियो । तर पछि श्रीमानले माया देखाएर सँगै भारत जाऊँ भनेपछि उहाँ श्रीमानसँगै जानुभयो ।
त्यतिबेला छोरीलाई गाउँमै छाडेर जानुभएको थियो, यता आफन्तीले विवाह गरिदिएका छन्, अहिले छोरीको सम्बन्ध विच्छेद भइसकेको छ । मलाईजस्तो भयो, उहाँले यो भनिरहँदा आँखाबाट आँसु थाम्न सक्नु भएन ।
दर्जीले भन्नुभयो, ‘कस्तो कर्म रहेछ मेरो, दुःख सहन सजिलो भएको छ तर मेरी छोरीलाई देख्दा मन भक्कानिन्छ । उसको अगाडि हिम्मत दिन्छु, अहिले छोरी ३५ वर्ष पुगी यो उमेरमा श्रीमानसँग साथ छुटेको छ ।’
तानसेन नगरपालिका–१३ का विष्णु दर्जीले १७ वर्षमा विवाह गर्नुभयो । उहाँको ३ छोराछोरी छन् । १७ वर्षको उमेरमै विवाह गर्नुभएकी उहाँले पनि जिल्ला अदालतमा पाल्पाबाट सम्बन्ध विच्छेद गर्नुभयो । उहाँले भन्नुभयो श्रीमानसँग छुट्टिएर बस्ने दिन आउला भन्ने सोचेकै थिइन, प्रेम विवाह गरेकी थिएँ तर बिछोड हुनुपर्यो ।
बालविवाह गरेकी उहाँलाई अहिले पछुतो परेको छ । श्रीमानबाट छुट्टिएर बस्न अदालतको सहारा लिनुपरेको छ । ‘मेरो त भविष्य डामाडोल भयो, यी तीन छोराछोरीका समेत भविष्य देखेर आफैलाई सराप्छु’ उहाँले भन्नुभयो । ५ कक्षा पढ्दा पढ्दै विवाह गरे खै के सोचेर विवाह गरेँ, म आफैलाई थाहा छैन । अहिले आफ्नै कर्मलाई धिक्कार्नु बाहेक केही छैन ’ विष्णु दर्जीले भन्नुभयो । अहिले माइतकै घरमा बसेर अरूकोमा भैँसीलाई घाँस काटेर जीविकोपार्जन गर्नुहुन्छ ।
तानसेन नगरपालिका–७ की सिता कुमालले १४ वर्षमा विवाह गर्नुभयो, २०७९ मा सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पाल्पामा मुद्दा दर्ता गर्नुभयो । २० वर्षको उमेरमा वैवाहिक जीवन सुरु गर्नुभएकी उहाँले श्रीमानले दिनहुँजसो शारीरिक यातना दिने, कुटपिट गरेपछि अहिले तानसेनमा कोठा लिएर बस्नुभएको छ ।
‘दिनरात झगडा हुन्छ, अब म तँलाई पाल्न सक्दिन, तँ आफ्नो बाटो लाग, म मेरो बाटो लाग्छु भन्नुहुन्छ’ उहाँले भन्नुभयो, ‘श्रीमानको व्यवहार र बचन खप्न नसकेपछि सम्बन्ध विच्छेदको निर्णयमा पुगेकी हुँ ।’
यी त उदाहरण मात्र हुन् । पाल्पामा उमेर नपुग्दै विवाह गर्ने र बुझ्ने भएपछि समस्यामा परेर सम्बन्ध विच्छेद गर्ने बढेका छन् । तानसेन नगरपालिकामा मात्र गत आर्थिक वर्षमा ५७ जना जोडिले सम्बन्ध विच्छेद गरेको तथ्याङ्क छ । तानसेन नगरपालिकाभित्र बालविवाह कति भयो भन्ने यकिन तथ्याङ्क भने नभएको बताइन्छ ।
वाल विवाहका घटना दर्ता नभए पनि कहीँ कतै वाल विवाह भयो भन्ने सुन्नमा आएको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले बताउनुभयो । बाल विवाहविरुद्धका चेतनामूलक कार्यक्रम, अभियान नै भनेर कुनै कार्यक्रम नचलाइएको आचार्यको भनाइ छ ।
जिल्ला अदालत पाल्पाका अनुसार जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा २ सय ८१ दर्ता भएको थियो, जसमा १ सय ८९ फर्स्यौट ९२ बाँकी रहेको छ । २०७८–७९ मा ४ सय ६६ मुद्दा दर्ता ३७६ फर्स्यौट र ९० बाँकी छ ।
२०७९–८० मा ५ सय ३३ मा ४ सय ४५ मुद्दा फर्स्यौट भएको ८८ वटा फर्स्यौट हुन बाँकी छ । २०८०–८१ मा ५ सय २४ मुद्दा दर्ता भएकोमा ४ सय ५५ फर्स्यौट भएको छ । ६९ बाँकी छन् । यसरी जिल्ला अदालत पाल्पामा सम्बन्ध विच्छेदका मुद्दा दैनिकजसो दर्ता भएका छन् ।
‘जिल्ला अदालत पाल्पामा सम्बन्ध विच्छेद गर्ने भनेर दैनिकजसो नै आउने गरेका छन् वंश गोपाल कानुनी सेवा केन्द्रका सञ्चालक अधिवक्ता केशव अधिकारीले भन्नुभयो । सम्बन्ध विच्छेदका मुद्दामा अधिकांश २० देखि ४० वर्षका रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विवाह गर्ने उमेरमा सम्बन्ध विच्छेद गर्न आउँछन्, हामीले मिलाउन खोज्छौँ । तर उहाँहरू छुट्टिने भन्नुहुन्छ ।’
उमेर नपुगेर भएको विवाहका कारणपछि आफू बुझ्ने भएपछि समस्या देखिँदा, श्रीमान् वा श्रीमती कोही विदेशबाट फर्किएपछि हिसाबकिताब नमिलेर, यौन सन्तुष्टि नभएर, अत्यधिक मदिरा सेवन गरेर सम्बन्ध विच्छेद गर्न आउने गरेको उहाँको भनाइ छ ।
कतिपय सम्बन्ध मिलाएर राम्रो भएको र धन्यवाद दिन आउने गरेको उहाँको अनुभव छ । अधिकारीले भन्नुभयो, “सम्बन्ध विच्छेदपछि आमाबुवाले त स्वतन्त्र जीवन बिताउलान्, तर त्यसको प्रत्यक्ष असर भने बालबालिकालाई पर्ने गरेको छ ।”
आमाबुवाको सम्बन्ध विच्छेदले बालबालिकामा मनोवैज्ञानिक असर पारेको अधिकारकर्मी एवम् अधिवक्ता मिना जीसीले बताउनुभयो । उहाँले भन्नुभयो, “छोराछोरी जन्मेपछि सम्बन्ध विच्छेद गर्ने गरेका छन् । बच्चाहरू सानो हुँदा अभिभावक कुनै कारणले सम्बन्ध विच्छेद गर्छन्, त्यसपछि बच्चाको जिम्मेवारी आमा वा बुवा एक्लैले राम्रोसँग पूरा गर्न सक्दैनन् ।”
उहाँका अनुसार सम्बन्ध विच्छेदका घटना बालविवाह, विपन्नता, मोबाइल फोनको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षाजस्ता कारणले हुने गरेको छ । यसैगरी कुटपिट, खान लगाउन नदिनु, बच्चा जन्माउने विषयमा कुरा नमिल्नु, सम्पत्ति प्राप्तिमा लोभ हुनुलगायतका कारणले पनि सम्बन्ध विच्छेद हुने गरेको जीसीले बताउनुभयो ।
‘अदालतमा आउने सम्बन्धविच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा उमेर नपुग्दै प्रेमविवाह गर्ने र २० देखि ३० वर्षको उमेरमा सम्बन्ध विच्छेदका लागि निवेदन दिनेहरू छन्’ किशोरावस्थाका बालबालिकालाई राम्रो निर्देशन नदिँदा आउने परिणाम हो ।’