अर्जुन काफ्ले
स्याङ्जा, मङसिर २ गते । सन् २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका स्याङ्जामा तीन महिला क्रिकेट खेलाडीलाई अर्जुनचौपारी गाउँपालिकाले सम्मान गर्ने भएको छ ।
कात्तिक १९ गतेबाट २९ सम्म युएईमा सञ्चालित यु–१९ विश्वकपका छनोटमा उपाधि जितेका पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सिमाना केसी र कुसुम गोदारलाई दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सवको अवसरमा पालिकाले १५/१५ हजार रुपियाँसहित सम्मान गर्ने भएको हो ।
खेलाडीको प्रोत्साहनका लागी पालिकाले यो निर्णय गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । यही मङ्सिर ६, ७ र ८ गते आयोजना गरिएको राष्ट्रपति कप तथा शैक्षिक महोत्सवको समापनमा उक्त नगद पुरस्कार प्रदान गरिनेछ ।
स्याङ्जाका खेलाडीले इतिहास रचेको भन्दै जिल्लाको पहिचानका लागी खेलाडीहरूको योगदान महत्त्वपूर्ण रहेकाले खेल र खेलाडीको विकासको पक्षमा अर्जुनचौपारी गाउँपालिका रहेको अध्यक्ष तिवारीले बताउनुभयो ।
आइसिसी महिला यु–१९ विश्वकपका लागि छनोट भएको नेपाली यु–१९ टोली बिहीबार साँझ मात्र स्वदेश फर्किएका थिए । उपाधि जितेका महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट सङ्घसहित यहाँका खेलप्रेमी युवाले मोटरसाइकल र्यालीसहित स्याङ्जा ल्याएका थिए ।
सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यु–१९ टोलीले विश्वकपमा स्थान पक्का गरेको र महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापाले बचाउनुभयो ।