• ११ पुस २०८१, बिहिबार

महावु अध्यक्षका लागि सात जनाको उम्मेदवारी दर्ता

blog

महावु गाउँपालिकाको अध्यक्ष पदका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्दै जङ्ग बहादुर शाही । तस्बिर : कमल शर्मा

कमल शर्मा  

दैलेख, मङ्सिर २ गते । मङ्सिर १६ गते हुने आसन्न उपनिर्वाचनका लागी महावु गाउँपालिकाको अध्यक्षमा सात(७) दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय महावुले दिएको जानकार अनुसार दिउँसो ३ः३० बजेसम्म अध्यक्षमा पदमा विभिन्न सात राजनैतिक पार्टीले अध्यक्ष पदमा मनोनयन दर्ता गरेका हुन् । 

गाउँपालिका अध्यक्ष पदका लागी नेकपा एमालेबाट जङ्गबहादुर शाहीले मनोनयन दर्ता गर्नुभएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा विजयी भएका शाही २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त गठबन्धन बाट उम्मेदवार भई नेपाली काँग्रेसका लछुमुन गुरुङसँग पराजित हुनुभएको थियो ।

यस्तै नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदमा झलक भण्डारीले मनोनयन दर्ता गरेका छन् । स्थानीय तहको निर्वाचन २०७९ मा अध्यक्षमा आंकाक्षी रहनुभएका उहाँ नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य हुनुहुन्छ । उपनिर्वाचनका लागी माओवादी केन्द्रका जङ्गबहादुर बराल मगरले अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ । 

महावु गाउँपालिकाको अध्यक्ष पदमा हुने उप निर्वाचनका लागी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रकाश कुमार बुढाले उम्मेदवारी दर्ता गर्नुभएको छ । त्यस्तै राप्रपा बाट सुर्जे रावत, नेपाल मजदुर किसान पार्टी बाट ,दुर्ग बहादुर मगरले मनोनयन दर्ता गर्नुभएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बाट अध्यक्ष पदमा जगत बहादुर हमालले मनोनयन दर्ता गर्नुभएको छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले महावु गाउँपालिका–५ कासिकाँधको बाट वडाध्यक्षमा विजयी हुनुभएको थियो । महावु गाउँपालिकाका अध्यक्ष लछुमुन गुरुङको २०८० माघ २७ गते हृदयाघातका कारण  मृत्यु भएको थियो । 

वडाध्यक्षमा ६ जनाको उम्मेदवारी 

दैलेखको दुल्लु नगरपालिका –१३ को वडाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी दर्ता गरेका छन् । नेपाली काँग्रेस बाट रेशम बहादुर शाही, नेकपा एमालेबाट लाल बहादुर शाही, नेकपा माओवादी केन्द्रका ढकेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका राम बहादुर शाही, राप्रपा  रेशम कुमार मल्ल नेपाल नेपाल मजदुर किसान पार्टी पूर्ण प्रसाद उपाध्यायले मनोनयन दर्ता गरेका छन् ।