कीर्तिपुर, मङ्सिर २ गते । कीर्तिपुर नगरपालिका प्रमुखमा आइतबार दिउँसो ३ः४५ सम्म जम्मा १७ जनाको उम्मेदवारी परेको छ।
कीर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार प्रमुख पदमा नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा (एमाले) का डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का डा. शिवशरण महर्जनले उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।
यसैगरी, नेपाल समाजवादी पार्टीका दिल कुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन र जनमत पार्टीका केशव श्रेष्ठले नगरप्रमुखमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवारहरु डा. नवराज कुमार बाँनिया, राजमान महर्जन, रामकृष्ण महर्जन, निम महर्जन, प्रेम बहादुर महर्जन, दिनेश कुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर र कवि कुमार महर्जनले नगरप्रमुखमा उम्मेदवारी दिनुभएको छ ।
उहाँका अनुसार उम्मेदवारी दर्ता शान्तिपूर्ण वातावरणामा भइरहेको छ । भिडभाड अझै कायम रहेकाले अपरान्ह ५ बजेसम्म मनोनयन दर्ताका लागि उम्मेदवारहरुको नाम थपिनसक्ने उहाँको भनाइ छ ।