जलसम्पदामा धनी मुलुक नेपाल ढिलै भए पनि ऊर्जा उत्पादनमा उपलब्धितर्फ उन्मुख छ । एक दशकअघिसम्म विद्युत् कटौतीको उच्च मारमा भएको नेपालले बिस्तारै स्वच्छ ऊर्जामा प्रगति हासिल गर्दै छ । जाडोयाममा अझै ऊर्जाको अभाव भए पनि अरू बेला भारत निर्यात गर्न थाल्यो । नेपालको विद्युत् भारत निर्यात हुनु पनि कुनै बेला सपना जस्तो थियो । दिनकै १८ घण्टासम्म विद्युत् कटौती भोगेको नेपालका निम्ति निर्यात हुने अवस्थामा पुग्नु ठुलै सफलता हो । खास गरी निजी क्षेत्रले विद्युत् उत्पादनमा उत्साह देखाएसँगै हरित ऊर्जाको उत्पादनले गति लियो । भारत निर्यात हुँदै आएकोमा नेपाली विद्युत् शुक्रबार बङ्गलादेशसमेत निर्यात भयो । भारतको बाटो हुँदै बङ्गलादेश विद्युत् निर्यात हुनु नयाँ अध्याय हो । ऊर्जा व्यापारमा नयाँ युगसमेत आरम्भ भयो ।
छिमेकी मुलुक बङ्गलादेशमा जलविद्युतीय ऊर्जाको अभाव छ । पाँच वर्षदेखि नै बङ्गलादेशले नेपालबाट विद्युत् लैजान चाहेको हो । संवाद सघन रूपमा अगाडि बढेका हुन् । बङ्गलादेशले नेपालको जलविद्युत्को ठुलै आयोजनामा लगानी गर्ने चासो पनि देखाएको हो । संवादले प्रगति हासिल गर्दै गएको थियो । केही महिनाअघि बङ्गलादेशमा राजनीतिक उथलपुथल भयो । त्यस परिघटनाले नेपालसित ऊर्जा लेनदेनमा भएको प्रगतिमा विराम आउने भयसमेत थियो । उथलपुथलपछिको नयाँ सरकारले नेपालसितका ऊर्जा व्यापारको प्रगतिमा बाधा गरेन । फलस्वरूप करिब पाँच वर्षदेखिको प्रयासले शुक्रबार सार्थकता पायो । नेपालमा उत्पादित ४० मेगावाट विद्युत् भारतको बाटो हुँदै बङ्गलादेश पुग्यो । त्रिदेशीय ऊर्जा व्यापारको नवीन अभ्यासले सार्थकता पायो ।
ऐतिहासिक क्षण सधैँ आउँदैन । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहम्मद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा शुक्रबार स्विच अन गर्नु ऐतिहासिक क्षण थियो । नेपालको विद्युत् बङ्गलादेश पुग्छ भन्ने कुनै बेला कल्पनासम्म पनि थिएन । परम्परागत रूपमा नेपाल र भारतबिच मात्र विद्युत् व्यापार हुँदै आएको थियो । बङ्गलादेश पुग्न सक्ने कुरा सजिलो पनि थिएन । नेपालको सिमाना बङ्गलादेशसित जोडिएको छैन । भारतले सहजीकरण गरिदियो । अब नेपालको विद्युत् तेस्रो देश बङ्गलादेशमा पुग्न थालेपछि ऊर्जा व्यापारमा भावी दिनका निम्तिसमेत नयाँ आयाम बन्न सक्ने भएको छ ।
नेपाली हरित ऊर्जा बङ्गलादेश पुग्न भारतको प्रसारण संरचना सहयोगी भएको छ । नेपाल र भारतबिचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुगेको छ । त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत भारत–बङ्गलादेशबिचको बहरामपुर (भारत)– भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुगेको छ । त्रिदेशीय विद्युत् व्यापार सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश पुगेकामा भारतले पनि औपचारिक रूपमा ऐतिहासिक उपलब्धि भनेको छ । भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय ग्रिडमार्फत नेपालको विद्युत् बङ्गलादेश पुग्नुले उपक्षेत्रीय अन्तरआबद्धता विस्तार हुँदै गरेको टिप्पणी गरेको छ । यो टिप्पणीले ऊर्जा व्यापारका आगामी आयाम फराकिलो हुने देखिएको छ ।
बङ्गलादेशतर्फ विद्युत् निर्यात शुक्रबार मध्याह्न साढे १२ बजेबाट सुरु भएको हो । यस वर्ष (सन् २०२४) मा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र भयो । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात सुरु हुने छ । नेपालका हिमाली नदीमा चिसो बढेसँगै हिउँ जमेर पानीको मात्रा घट्ने छन् । हिउँदपछि गर्मी चढेसँगै नदीमा जलप्रवाह बढेपछि विद्युत् उत्पादनमा बढोत्तरी हुने छ । बर्सातमा झनै नेपालको विद्युत् उत्पादनको ग्राफ माथि पुग्ने हुँदा निर्यातमा सुधार हुने छ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सीमित घण्टा विद्युत् बङ्गलादेश पु¥याउँदा राम्रो आयआर्जन गरेको छ । साढे ११ घण्टा बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात गर्दा २८ हजार १६० डलर अर्थात् ३७ लाख ९३ हजार ४३३ रुपियाँ आर्जन गरेको छ । नेपालमा युगौँदेखि नदी निरन्तर जलप्रवाह गरिरहेका छन् । त्यो जलप्रवाहलाई विद्युत्, सिँचाइ, पिउने पानी आदिमा अति सीमित अंश मात्र प्रयोग गरिएको छ । विद्युत् उत्पादनको ११३ वर्षको इतिहासमा अझै चार हजार मेगावाट पुग्न सकेको छैन । नेपाली जलसम्पदालाई बेलैमा प्रभावकारी प्रयोग गर्न सक्दा देशले समृद्धि हासिल गर्न समय लाग्ने थिएन । जलऊर्जा नै नेपालको भविष्य भएको यसबाट स्पष्ट हुन्छ ।