• २ मंसिर २०८१, आइतबार

विकासमा साझेदारी गर्दै निजी क्षेत्र

blog

ललित बसेल

सुर्खेत, मङ्सिर २ गते । कर्णाली प्रदेशमा निजी क्षेत्रको नेतृत्व गर्दै आएको सुर्खेतको निजी क्षेत्रले जिल्ला र प्रदेशसँग सरोकार राख्ने विकासमा साझेदारी गर्ने नीति लिएको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारण सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सङ्घले जिल्ला र प्रदेशको विकासमा समन्वय, पहल र सहयोगमा साझेदारी गर्ने जनाएको हो । 

प्रादेशिक स्तरको औद्योगिक क्षेत्र स्थापना, सुर्खेतमा स्थापना गर्न लागिएका सूर्यतारा सिमेन्ट, चौकुने सिमेन्ट र लखरपाटा सिमेन्ट उद्योग सञ्चालन, दैलेखको पेट्रोलियम खानी उत्खनन, अन्वेषण, प्रसोधन र उत्पादनका काममा आवश्यक पहल, प्रयास र सहयोग गर्ने जनाइएको छ । यस्तै कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडानका लागि निजी एयरलाइन्स कम्पनीसँग छलफल गर्ने, एक जिल्ला एक उद्योगको अवधारणा अनुसार उद्योगको विकास गर्ने, १३२ केभिए राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार, वीरेन्द्रनगरको सुब्वाकुनादेखि बाँगेसिमलसम्मको चार लेनको सडकलाई छ लेनको बनाउन पनि सहकार्य गर्ने नीतिमा उल्लेख छ ।  सुर्खेतलाई स्मार्ट सिटीका रूपमा विकसित गर्न आवश्यक भौतिक, पूर्वाधार एवं संरचना निर्माणमा पनि स्थानीय तथा प्रदेश सरकारसँग सँगसँगै अघि बढ्ने सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो । 

यसै गरी सुर्खेत–मालारानी, सल्यान हुँदै दाङ तथा सुर्खेत तेलपानी हुँदै बर्दियाको भुरीगाउँ सडक निर्माण, सुर्खेत–कोहलपुर सडक दुई लेन तथा सुर्खेतदेखि रारा जोड्ने सडक कालोपत्रे तथा स्तरोन्नतिलाई पनि नीतिमा समेटिएको छ । 

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीमा लगानी भित्र्याउन प्रदेश सरकारले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्न पछि नपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई पनि सँगसँगै लैजान सकिए विकास तथा आर्थिक समृद्धिमा योगदान गर्न सकिने उल्लेख गर्दै त्यसका लागि आफू सदैव तयार रहेको बताउनुभयो । 

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णालीमा जल, जङ्गल, जमिन, जडीबुटी र पर्यटनको क्षेत्रमा लगानी भित्र्याउन सकिने अवस्था रहेको बताउनुभयो । उहाँले त्यसका लागि प्रदेश सरकारले गर्न सक्ने सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिव भद्र भण्डारीले उद्योगी व्यवसायीको पक्षमा धेरै काम भइरहेको जानकारी दिँदै निजी क्षेत्रलाई पनि अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीलगायतले उद्योगी, व्यवसायीमैत्री वातावरण तयार गरिदिन आग्रह गर्नुभएको थियो । अहिले निजी क्षेत्र बैङ्कलगायतका कारणबाट प्रताडित भएको भन्दै उहाँले निजी क्षेत्रलाई सबल बनाउन सकिए तीन तहका सरकारले चाहेको आर्थिक समृद्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।