• २८ पुस २०८१, आइतबार

हुर्रा नृत्यको संरक्षणमा जुट्दै युवा

blog

निशा राई

धरान, कात्तिक ३० गते । मगर जातिको सांस्कृतिक हुर्रा नृत्यको संरक्षण गर्न युवापुस्ता लक्षित गरि धरानमा हुर्रा कार्यक्रम गरिएको छ । शुक्रबार आयोजित हुर्रा कार्यक्रममा धरानमा बसोवास गरेका स्थानीय मगर जातिलाई सांस्कृतिक रूपमा एकतावद्धता गर्दै युवा पुस्तामा संस्कृतिप्रति मोह बढाउन हुर्रा नृत्य प्रदर्शन गरिएको नेपाल मगर सङ्घका धरान उपमहानगर समितिका अध्यक्ष चित्रराज थापा मगरले बताउनुभयो । 

मगर जातीको हुर्रा नाचको उद्गमस्थल धनकुटाको चौबिसे भएपनि हाल मोरङ, उदयपुर, सङ्खुवासभा लगायत क्षेत्रहरुमा बसोबास गर्ने अधिकांश मगर जातिमा हुर्रा नाच लोकप्रिय रहँदै आएको उहाँले बतानुभयो । 

हुर्रा नृत्य पूर्वको मगर जातीहरुको साँस्कृतिक नृत्यमा पर्ने कार्यक्रमको अतिथि नेपाल मगर संघको केन्द्रीय महासचिव शारादा थापा मगर बताउनुभयो । यस नृत्यमा सबैजनाले एकले अर्काको हात समाएर ताल मिलाएर गाउँदै नाच्ने गरिन्छ । मुख्य गरेर मगर युवा तथा युवतीले आ–आफ्नो भेषभूषा र जातीय पहिरनमा रहेर मादल, झ्याली, सहित गोलोघेरा हाली सामूहिक रुपमा नाचिएको हुन्छ । सामूहिक नाच गानले समुदायमा नयाँ पुस्तालाई सांस्कृतिक चेतना दिलाउने र भाइचाराको सम्बन्ध विश्वासिलो हुने उहाँले बताउनुभयो । 

हुर्रा नाच पूर्वेली मगरको पहिचान भएका कारण धरानमा पनि यसको संरक्षण गर्न हरेक वर्ष हुर्रा कार्यक्रम गर्दै आएको अध्यक्षले बताउनुभयो । साथै नयाँ पुस्ताहरुमा पनि आफ्नो सँस्कृतिहरु हस्तान्तरण हुने र हराउँदै गएको मौलिक नृत्यलाई पनि जगेर्ना गर्न महत्वपुर्ण भूमिका खेल्ने र छरिएर रहेका मगरहरुलाई एक बनाउने उदेश्य रहेको उहाँले बताउनुभयो । 

यसरी सामुहिक रुपमा नाचगानले समुदायमा रहेको नयाँ पुस्तालाई आ–आफ्नो सांस्कृतिक संस्कृतिप्रति चेतना दिलाउने र भाइचाराको सम्बन्ध पनि विश्वासिलो बनाउने भएकोले यस्तो कार्यक्रमहरु गर्न जरुरी रहेको नेपाल मगर संघ धरानको सह सचिव नाखान चक्र थापा मगरले बताउनुभयो ।  आफ्नो संस्कृतिलाई जोगाए जाति, धर्म संस्कार पनि जोगिने उहाँले बताउनुभयो  ।

युवा पुस्तामा मगर संस्कार संस्कृतिको जोगर्ना गर्न संरक्षणका लागि धरान बाहिरबाट पनि मगर जातीहरुलाई आमन्त्रण गरी युवा पुस्ता माझ हुर्रा प्रदर्शन गरिएको स्थानियवासी लिला मगरले बताउनुभयो । कार्यक्रममा मगर समुदायको युवायुवति, केटाकेटीहरु लगायत बुढापाकाहरु आफ्नो भेषभुषमा सजिएर गोलोघेरा लगाई नाचगान गरिएको थियो भने अन्य जातिका मानिसहरुको पनि उपस्थिति रहेको थियो ।