देशको शिर उँचो बनाउने अनेक आयाम छन् । अब्बल राजनीतिक नेतृत्वले राजनीतिक स्थिरता र सुशासन प्रदान गर्दै देशलाई समृद्धिको दिशामा लैजान्छ । प्रशासनिक नेतृत्वले स्थायी सरकार मानिने सार्वजनिक प्रशासनलाई स्वच्छ, पारदर्शी बनाई जनसेवामा समर्पित गर्छ । प्राज्ञिक वर्गले बौद्धिक चिन्तनलाई प्रखर बनाउँदै शैक्षिक भविष्यलाई उज्ज्वल बनाउँछ । त्यसै क्रममा खेल क्षेत्रले देशको नाम विश्वभर चिनाउन सक्छ । कतिपय देशले खेल क्षेत्रलाई विश्वभर नाम चिनाउने सुकार्यसँगै अर्थतन्त्र निर्माणको आधार समेत बनाएका छन् । यस अर्थमा खेल क्षेत्र समृद्धिको आधार हुँदै छ । नेपालमा क्रिकेट उदाउँदो छ । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्पर्धामा प्रभावकारी उपस्थिति देखाउँदै छ । क्रिकेटमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुषको बढ्दो उचाइसँगै महिला युवा क्रिकेटरसमेत उदाउँदै जानु राष्ट्रिय गौरवको विषय हो ।
क्रिकेट विश्वकपमा नेपाली महिला टिम पहिलोपल्ट सानदार प्रवेश पाउन सफल भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित दी सेभेन रङ्गशालामा बुधबार भएको आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटको अन्तिम खेल नेपालका निम्ति गौरवयोग्य भयो । घरेलु टिम युएईलाई हराएर नयाँ इतिहास निर्माण गरे । त्यस खेलमा आठ विकेटले युएईलाई हराएर नेपालको महिला यु–१९ टिमले इतिहास रचेको हो । नेपालले अब १६ टिम सहभागी हुने विश्वकपमा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्डविरुद्ध खेल्ने छ । सो टिम समूह ‘डी’ मा रहने छ । यु–१९ महिला विश्वकप मलेसियामा अर्को वर्ष २०२५ मा आयोजना हुँदै छ । युएईविरुद्धको जितले नेपाल विश्वकपमा मात्र होइन, यु–१९ महिला एसिया कप खेल्नसमेत योग्य बनाएको छ । अर्को महिना मलेसियामै हुने यु–१९ महिला एसिया कपमा पनि खेल्ने छ । नेपालले समूह ‘बी’ मा भारत र पाकिस्तानसँग खेल्ने अवसर प्राप्त गरेको छ ।
विश्व क्रिकेटमा नेपाली क्रिकेटको प्रवेशयताका वर्षमा गौरवमय बन्दै छ । नेपाली पुरुष यु–१९ क्रिकेटको छविले देशलाई गर्व गर्नलायक बनाउँदै आएको विदित छ । यु–१९ पुरुष क्रिकेटले यसअघि नै आठ पटक विश्वकप खेलेर देशको नाम संसारमा चिनाउँदै खेलप्रेमीको उत्साह भरेको छ । आफ्नै उमेर समूहका पुरुष टिमको सफलता पछ्याउँदै महिला यु–१९ क्रिकेट टिमले बुधबार युएईमा नयाँ कीर्तिमान बनाउनु कडा परिश्रमको फल हो । आइसिसी यु–१९ विश्वकपमा खेल्ने नेपाली महिलाको सपना साकार बनाउनु सजिलो थिएन । नेपाली महिलाले यसअघि कहिल्यै विश्वकम खेल्ने फलामे बार पार गर्न सकेको थिएन । निरन्तर प्रयासले सफलता मिल्छ भन्ने ताजा उदाहरण हो । नेपाली पुरुष क्रिकेटको यु–१९ सँगै सिनियर पुरुषले विश्वकप मैदानमा स्पर्धाको गौरवमय इतिहास कायम भने गरिसकेका छन् । महिला क्रिकेटरले सफलताको नयाँ आयामसँगै भाबी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गरेका छन् ।
समीक्षकहरूका अनुसार बुधबार प्राप्त सफलता महìवपूर्ण छ । त्यस खेलअघिसम्म नेपालको विश्वकप खेल्ने सम्भावना कमजोर थियो । चार टिमबिचको प्रतियोगितामा शीर्ष स्थानमा रहने टिम विश्वकपमा छनोट हुने प्रावधान हो । फाइनलमा रूपान्तरित अन्तिम खेलअघि युएई पाँच खेलमा पाँच जितसहित शीर्ष स्थानमै थियो । पहिलो खेलमा नेपाल युएईसँग १३ रनले पराजित भइसकेको थियो । विश्वकपमा खाता खोल्न बलियो टिम युएईलाई ठुलो अन्तरमा हराउनुपर्ने चुनौती थियो । नेपाली टिमले चुनौतीको सामना ग¥यो । पहिले ब्याटिङ गरेको युएईलाई निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रनमा रोक्न सफल मात्र भएन, १४.४ ओभरमै दुई विकेटको क्षतिमा ८६ रन बनाएर खेल आफ्नो पक्षमा पार्यो ।
क्रिकेटमा नेपाली युवा विश्व प्रतिस्पर्धामा क्रमशः अब्बल हुँदै भन्ने देखिँदै छ । नेपाली पुरुष मात्र होइन, महिला खेलाडीसमेत अरूभन्दा कमी छैनन् भन्ने स्पष्ट र ताजा सन्देश हो यो । नेपाली क्रिकेटलाई माथि उठाउन भौतिक पूर्वाधारलगायत धेरै काम गर्न बाँकी नै छ । देशभित्र अति सीमित खेल पूर्वाधार छ र त्यसमा पनि क्रिकेटको अवस्था त झनै नाजुक छ । पर्याप्त क्रिकेट रङ्गशाला निर्माण हुन सकेको छैन । कतिपय रङ्गशाला निर्माणकै क्रममा विवादको भुमरीमा छन् । खेलाडीको आर्थिक भविष्य सुनिश्चित बनाउन सकिएको छैन । कमजोर अर्थतन्त्रले निजी क्षेत्रसमेत सहयोगी बन्न सकेको छैन । व्रिmकेटको यो सफलतासमेतले सरोकार निकायलाई गम्भीर बनाउन थप ऊर्जा मिल्ने विश्वास छ ।