• १२ पुस २०८१, शुक्रबार

अत्याधुनिक र गुणस्तरीय सेवा हाम्रो लक्ष्य

blog

नेपालमा बैङ्किङ प्रणालीको संस्थागत विकासको पाइला ८८ औँ वर्षमा प्रवेश गरेको छ । विसं १९९४ कात्तिक ३० गते नेपाल बैङ्क लिमिटेड स्थापना भएसँगै नेपालमा बैङ्किङ क्षेत्रको पाइला चालिएको थियो । सोही बैङ्क शुक्रबारदेखि ८८ औँ वर्षमा प्रवेश गर्दै छ । सरकारी स्वामित्वमा स्थापना भएको उक्त बैङ्कले भारतीय रुपियाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन भूमिका खेलेको थियो । बैङ्कको उद्घाटन तत्कालीन राजा त्रिभुवनवीरविक्रम शाहले गर्नुभएको थियो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा १० जना लगानीकर्ताले सुरु गरेको बैङ्कको चुक्ता पुँजी आठ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख रुपियाँ थियो । अहिले बैङ्कको १४ अर्ब ७० करोड रुपियाँ चुक्ता पुँजी छ । त्यसमा २३ अर्ब ३७ करोड रिजर्भ गर्दा साढे ३७ अर्ब नेटवर्थ छ । प्रस्तुत छ यसै पृष्ठभूमिमा पुसदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारीमा रहनुभएका तिलकराज पाण्डेयसँग गोरखापत्रका पत्रकार भेषराज बेल्बासेले गर्नुभएको कुराकानीको सम्पादित अंश : 


 बैङ्कको ८८ औँ बर्से यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

बैङ्क शुक्रबारदेखि ८८ औँ वर्षमा प्रवेश गर्दै छ । यसबिचमा बैङ्कले धेरै उतारचढाव पार गरेको छ । स्थापनाकालका केही वर्ष यसले केन्द्रीय बैङ्कको भूमिका पनि निर्वाह गर्‍यो । 

२०४० सालअगाडिको समय नेपाल बैङ्कका लागि स्वर्णयुग हो । यस अवधिमा यस बैङ्कले बैङ्किङ क्षेत्रको जग बसाल्नेदेखि संस्थागत पहल गर्‍यो । नेपाल र नेपालीलाई वित्तीय साक्षरता (पैसाको महत्व) बुझायो । 

आर्थिक क्रियाकलाप कसरी गर्ने, बढी भएको पैसा कहाँ राख्ने, उद्यम व्यवसाय गर्न पैसा नपुगे कहाँ गएर लिने, सरसापट कसरी गर्नेलगायत पैसाको संस्थागत कारोबार गर्न नेपाल बैङ्कले सिकाएको हो । 

२०५०/५१ सालदेखि बैङ्कमा उतारचढाव आयो । वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत सरकारले ल्याएको कार्यक्रममा विश्व बैङ्कको सहयोगमा विदेशी व्यवस्थापनलाई दिइयो । त्यसपछि यहाँ आमूल परिवर्तन भयो । पाँच वर्षपछि नेपाल राष्ट्र बैङ्कले लिएर छ वर्ष प्रत्यक्ष रूपमा बैङ्क सञ्चालन भयो । त्यसपछि स्वतन्त्र  सिइओ ल्याएर जिम्मा दिनु पर्छ भनेर करिब नौ वर्षपहिलेदेखि बजारबाट प्रतिस्पर्धात्मक रूपमा ल्याउन थालिएको हो । अहिले बैङ्कको अवस्था नेपालकै महत्वपूर्ण, सुदृढ बैङ्क, देशको अर्थतन्त्रलाई मद्दत गर्ने मजबुत बैङ्कका रूपमा छ ।


 ८८ औँ वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?

कुनै पनि संस्थाको वार्षिकोत्सव व्यक्तिको जन्मदिन जस्तै हो । त्यसै अनुसार हामी भव्य रूपमा यो मनाइरहेका छौँ । सबै उद्योगी व्यवसायी, हाम्रा ग्राहक, सरोकारवाला सबै उत्साहित छौँ । कर्मचारीबिचमा विभिन्न अतिरिक्त क्रियाकलाप भइरहेको छ । 

भर्खरै बैङ्क प्रवेश गरेकादेखि सेवा अवधिको २० वर्ष पुगेका कर्मचारी पनि उत्साहसाथ सहभागिता जनाइरहनुभएको छ । रक्तदान कार्यक्रम भएको छ । वार्षिकोत्सवका मूल समारोह मनाउँदै छौँ । त्यही बेला हाम्रा उपलब्धि र योजना सार्वजनिक गर्ने छौँ । साथै हाम्रा प्रतिज्ञा र प्रण सबैसामु राख्ने छौँ ।

 बैङ्कको वित्तीय अवस्था कस्तो छ ?

हाम्रो पछिल्लो तथ्याङ्क अनुसार २८९ अर्ब निक्षेप र २१४ अर्ब बढी कर्जा लगानी छ । त्यसै गरी नेपाल सरकारका विकास कोष, ट्रेजरी बिल, विकास ऋणपत्रदेखि विभिन्न लगानी, देशविदेश र बाह्य क्षेत्रमा नेपाली रुपियाँ र विदेशी मुद्रा लगानीसमेत गर्दा झन्डै ७८ अर्ब लगानीमा छ । बैङ्कले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासमा करिब ६० करोड रुपियाँ नाफा गरेको छ । 

गत वर्षको यही अवधिमा १४ करोड रुपियाँ नाफा गरेका थियौँ । चुक्ता पुँजी १४ अर्ब ७० करोड रुपियाँ छ । त्यसमा २३ अर्ब ३७ करोड रिजर्भ गर्दा साढे ३७ अर्ब नेटवर्थ छ । अहिले एनपिए असारको भन्दा केही बढेर ३.७५ पुगेको छ । यो बढ्नुको कारण के हो भने पहिलो त्रैमासमा असुलीमा जोड दिइएको थियो । त्यतिबेलै असोजमा देशमा ठुलो वर्षाका कारण धनजनको क्षति भयो । देशैभर बाटो अवरुद्ध हुने, आपूर्ति चक्र नै केही समय अवरुद्ध भएका कारण उद्योगी व्यवसायीले चाहेर पनि समयमा पैसा तिर्न नसक्दा एनपिए बढेको हो । यसमा क्रमशः सुधार हुँदै जान्छ ।


अहिले बैङ्कको धेरैले रुचाएको त्यस्तो कुन प्रडक्ट छ ?

हामीले गएको त्रैमासमा नेपालमा सबै मानिसलाई चाहेको ठाउँमा घर चाहिन्छ । बस्ने व्यवस्था हुनु पर्छ भन्ने कुरालाई ध्यानमा राख्दै आवास कर्जा सबैभन्दा सस्तो नेपालभर लागु हुने गरी झन्डै २० वर्षपछि सहुलियतपूर्ण घर कर्जा आएको छ । पाँच बर्से घर कर्जा लिँदा ७.३ प्रतिशत छ भने दस बर्सेमा ७.४ प्रतिशतमा उपलब्ध गराइरहेका छौँ । यसमा ग्राहकले पनि उत्साहजनक रूपमा चासो प्रकट गर्नुभएको छ । घटेको कर्जाको उपभोग सबैले गर्न पाउनु पर्छ भनेर सबैका लागि यो प्रडक्ट ल्याएको हौँ । यसका लागि हामीले करिब १० अर्ब बजेट छुट्याएका छौँ ।


 आर्थिक मन्दी र चुनौतीबिच बैङ्कहरूको वित्तीय विवरण राम्रो आएको छ । यसको कारण के हो ?

बैङ्कहरूको वित्तीय विवरण राम्रो आएको भनिन्छ तर त्यस्तो पनि होइन । गत वर्ष १३/१४ अर्ब समग्र बैङ्कको नाफा देखिँदा अहिले २२/२३ अर्ब भएको देख्दा त्यस्तो देखिएको हो । सबै बैङ्कको लगानीको प्रतिफल घटेको छ । लाभांश भुक्तानी घटेको छ, रिजर्भ पनि उत्साहजनक होइन । प्राकृतिक प्रकोप भयो, करिब तीन वर्षदेखि रुस–युक्रेन युद्ध र एक वर्षदेखि हमास/इजरायलका युद्धका कारण हाम्रो देशको अर्थतन्त्रमा पनि असर पुग्यो । यसो हुँदा पनि बैङ्क तथा वित्तीय संस्थाको ठुलो प्रयासले वित्तीय अवस्था सन्तोषजनक छ । अर्को कारण के छ भने राष्ट्र बैङ्कको अहिलेको मौद्रिक नीति पहिलेको भन्दा धेरै सुविधासहित आएको छ । ठेकेदारलाई धेरै सुविधा दिएको छ । पूर्वाधारका क्षेत्रलगायत बाह्य कारणले असुविधा परेका क्षेत्रमा मौद्रिक नीतिले सहजीकरण गरेको छ । यसरी अहिलेको अवस्था सुधार र सन्तोषजनक भएको हो ।


 कर्जा प्रवाह चाहिँ किन बढ्न सकेन ?

कर्जा प्रवाह बैङ्क तथा वित्तीय संस्थाले चाहेर मात्र जाने कुरा होइन । उद्योगी व्यवसायी कर्जा लिन तयार हुनु प¥यो । व्यावसायिक योजना हुनु प¥यो । त्यसमा बैङ्क तथा वित्तीय संस्थाले सहजीकरण गर्ने हो । 

पछिल्लो तथ्याङ्क हेर्दा बाह्य क्षेत्र सुधार भएको प्रस्ट देखिन्छ । आज साढे २१ खर्ब विदेशी मुद्रा सञ्चिति भयो भनेर खुसी हुने कि त्यो सदुपयोग भएन भनेर दुःखी हुने ? आयात गर्न नसकेर, ठुला पूर्वाधार बनाउन नसकेर, यहाँको उपभोग घटेर सञ्चिति बढ्दै गएको हो नि । जसलाई हामीले सदुपयोग गर्न सकेका छैनौँ । अब त्यस्तो नहोला कि । सरकार पनि छिटो छिटो फेरबदल हुने र नीतिगत अस्थिरता रहने अवस्था अब नहोला कि । अहिले दुई ठुला दलको सरकार छ । यो सरकार धेरै समय जाला भन्ने छ । उद्योगी व्यवसायीमा आत्मविश्वास बढ्न नसकेर नै यस्तो अवस्था आएको हो कि जस्तो लाग्छ । 

वैदेशिक रोजगारीदेखि पढ्न जाने लहर छ विभिन्न कारणले गर्दा उपभोग घटेको छ । उपभोग घटेपछि उत्पादन घट्छ, उत्पादन घटेपछि लगानी घट्छ र लगानी घटेपछि बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह पनि घट्ने हो । ब्याजदरको कुरा गर्ने हो भने गत वर्षको यतिबेला उद्योगी व्यवसायीले एकल अङ्कको ब्याजदर भयो भने मात्रै उद्योग व्यवसायको विस्तार हुन्छ भन्थे, आज कर्जाको ब्याजदर त एकल अङ्कमै छ त । औसतमा ६.८६ प्रतिशत छ हाम्रो आधार दर । यस्तो अवस्थामा पनि कर्जा प्रवाह नहुनु भनेको बजारमा सकारात्मक सन्देश बजारमा जानुपर्ने देख्छु ।


 सर्वसाधारणको क्रयशक्तिमै कमी आएको हो ?

क्रयशक्तिमा नै कमी आएकै हो किनभने अहिले कतिपय ठाउँमा सटर बन्द भएका छन् । बैङ्कको शाखा स्थापना गर्न घर भाडामा लिएकोमा दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने भन्थे । अहिले वृद्धि गर्न पर्दैन बस्नुस् भन्छन् । मुख्य बजारमै सटर खाली भइरहेका छन् । मानिसमा उपभोग गर्ने क्षमतामा कमी आउँदै गयो र सञ्चिति गर्ने प्रवृति बढ्दै गयो । हिजोका दिनमा आफूसँग भएको जसरी खर्च गर्थे अहिले सञ्चिति गर्दै जाने देखियो । अर्को कुरा तीनखम्बे अर्थनीतिमध्येको सहकारी क्षेत्र अहिले धर्मराएको छ । त्यसको असर पनि केही हदसम्म परेको देखिन्छ । सहकारीको विश्वास घट्दै गएका कारण त्यहाँ जाने पैसा अहिले औपचारिक च्यानलमा आइरहेको छ ।


 लगानीका लागि बजारमा सात खर्ब तरलता त पर्याप्त हो नि  ?

बजारमा सात खर्ब तरलता छ भन्ने होइन । अहिले लगानीयोग्य रकम साढे तीन अर्ब हो । विभिन्न प्रावधानमा छुट्याउनुपर्ने हुन्छ । भएको बचत सबै लगानी गर्न त पाइँदैन । सिडी रेसियो नब्बे प्रतिशत तोकिएको छ । साढे तीन अर्ब लगानीयोग्य रकम हो । सरकारले ठुला पूर्वाधारका काम सुरु ग¥यो भने यो रकम प्रयोग हुन्छ । अलिकति माहोल राम्रो भयो, आत्मविश्वास बढ्यो भने उद्योग व्यवसायलाई पनि लगानी गर्न समय लाग्दैन । एक वर्ष पनि लाग्दैन, छ महिनाभित्र यो पैसा अपडाउन हुन्छ ।


अबको बैङ्किङ क्षेत्र कसरी अघि बढ्ला ?

अर्थतन्त्र एउटा साइकलमा चल्ने हो । अहिले अर्थतन्त्रमा जुन सुस्तपना आएको छ । यसलाई चिर्न पर्ने अवस्था आएको छ तर बाह्य क्षेत्र सुदृढ हुँदै गएको छ । चौध महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिति छ, शोधानान्तर बचत छ । आयात सुस्ताउँदा सबैमा नकारात्मक प्रभाव परेको छ । अब अर्थतन्त्र चलायमान हुन्छ । बैङ्किङ क्षेत्र यतिबेला चुस्त नियमनमा छ । अन्तर्राष्ट्रियस्तरको बैङ्किङ सुविधा छन् अहिले । विशेष गरी डिजिटल प्रडक्टमा जाने क्रम बढ्दो छ । हामी पनि ७५ प्रतिशतभन्दा बढी यसमा छौँ । अरू बैङ्कमा पनि त्यस्तै छ । डिजिटलाइजेसन नै मुख्य कुरा हो । अबको समय भनेको ग्राहकको हो । ग्राहकले कस्तो सेवा लिने भनेर बैङ्कसम्म पुग्ने होइन । घरमै बसेर त्यस्तो सुविधा लिन सक्नु पर्छ । सम्पर्करहित, फेसलेस बैङ्किङ बढेको छ । बैङ्कमा चेक लिएर आउने धेरै कमी आइसक्यो । यससँगै जोखिम पनि बढ्दै छ । एआईले नयाँ नयाँ प्रविधि पनि ल्याएको छ । प्रविधिको सबैतिर सदुपयोग मात्रै हुन्छ भन्ने छैन । कसरी जोखिमलाई रोक्ने भन्ने चुनौती पनि छ ।


नेपाल बैङ्क कसरी अग्रणी बन्दै छ ?

नेपाल बैङ्क नेपाली माटो र हरेक नेपालीजनसँग प्रगाढ सम्बन्ध गाँसिएको बैङ्क हो । बालक, युवा, प्रौढ हुँदै ज्येष्ठ नागरिक सबैको रोजाइको बैङ्क बन्न सफल बनेको छ । सरकारी स्वामित्व रहेका कारणले पनि नाफा मात्र नभई उच्च सेवाभाव यस बैङ्कको मुख्य ध्येय हो । ठुला उद्यमी व्यवसायीदेखि न्यून आर्थिक स्तर भएका नेपालीजन सधैँ यस बैङ्कको प्राथमिकतामा रहेका छन् । अहिले हामीकहाँ औसत ३६ वर्ष उमेरका कर्मचारी हुनुहुन्छ । बैङ्किङ सेवाको हिसाबले नेपाल बैङ्कमा रहेको अहिलेको जनशक्ति जुझारु युवाको काँधमा पुगेको छ । बजारमा रहेको क्रिम र प्रतिस्पर्धी जनशक्तिले यो बैङ्क हाँकिएको छ । बैङ्क अस्तिभन्दा हिजो, हिजोभन्दा आज र आजभन्दा भोलि उन्नत, गुणस्तरीय, भरपर्दो र अत्याधुनिक बैङ्किङ सेवा उपलब्ध गराउन सदैव प्रयत्नशील रहेका छौँ ।