गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३० गते । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बैठकले छुर्पीको अनिवार्य गुणस्तरको मापदण्डमा तयार गरी कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत मन्त्रीपरिषद्मा पेस गर्ने निर्णय गरेको छ । बैठक समितिका अध्यक्ष एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको अध्यक्षतामा विभागमा बिहीबार बसेको पहिलो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा समितिका अन्य सदस्यमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका सहसचिव, नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, उपभोक्ता हितसम्बन्धी संस्थाका प्रतिनिधि, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक तथा खाद्यविज्ञसहितको प्रतिनिधिको सहभागिता रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
साथै सो बैठकले खाद्य स्वच्छता तथा गुणस्तर ऐनबमोजिम आवश्यकता र औचित्यताका आधारमा विज्ञ सम्मिलित विषयगत मसौदा तयारी उपसमिति गठन गर्न समितिका सदस्य सचिव एवं खाद्य प्रविधि विभागका महानिर्देशक सञ्जीव कर्णलाई जिम्मा दिने निर्णय गरेको पनि जानकारी दिइएको छ ।