विश्वास रेग्मी/कोकिला ढकाल
काठमाडौँ/इलाम, कात्तिक ३० गते । अन्तर्राष्ट्रिय व्यापारमा केही वर्षयता तीव्र उतारचढाव बेहोरेको नेपाली चिया (सिटिसी) को निर्यातमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा नेपाली चियाको निर्यात मूल्य र परिणामका हिसाबले करिब ५० प्रतिशतले बढेको छ ।
भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म नेपालबाट एक अर्ब ७३ करोड रुपियाँको चियाको निर्यात भएको छ । यससँगै नेपालबाट धेरै निर्यात हुने वस्तुको सूचीमा चिया दोस्रो स्थानमा उक्लिएको छ । त्यसअघि आव २०८०/८१ को सोही अवधिसम्म एक अर्ब २० करोड रुपियाँको चिया निर्यात भएको थियो ।
यस हिसाबले तीन महिनामै चिया निर्यात ५२ करोड रुपियाँले बढेको तथ्याङ्कले देखाउँछ । त्यसअघि आव २०७९/८० मा एक अर्ब २६ करोड रुपियाँको चिया निर्यात भएको थियो ।
खासगरी भारतीय बजारमा नेपाली चियाको माग बढेपछि निर्यात बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले बताउनुभयो । “भारतीय चियाका बोट पुराना हुँदै जाँदा उत्पादन घटेकाले त्यहाँबाट माग बढेको पाइएको छ,” उहाँले भन्नुभयो । २० औँ वर्ष पुराना त्यस्ता बोटबाट राम्रो चिया नहुने भएकाले भारतीय व्यवसायीले नेपाली चियाको खोजी गरेको उहाँको भनाइ छ । भारत विश्वमा धेरै चिया खपत हुने मध्येमा पर्छ । त्यसमा पनि सिटिसी चियाको खपत त्यहाँ धेरै हुन्छ ।
सिटिसी चिया उत्पादनका लागि चर्चित भारतको दार्जिलिङलगायतका क्षेत्रमा नै उत्पादन घटेपछि नेपालतर्फको माग बढेको प्रवक्ता खनालले जानकारी दिनुभयो ।
“जलवायु परिवर्तनको असरले पनि दार्जिलिङ जस्ता चिया धेरै उत्पादन हुने क्षेत्रमा नै चिया उत्पादन घटेका खबर आइरहेका छन्,” उहाँले भन्नुभयो । भारतको आन्तरिक बजारलाई नै धेरै चिया चाहिने र विश्व बजारमा समेत दार्जिलिङ चिया भनेर गरिरहेको निर्यातमा समेत असर परेपछि नेपाली चियाको निर्यात बढेको उहाँले बताउनुभयो । माग अनुसार चियाको आपूर्ति कम भएपछि भारतले कुनै किसिमको शुल्क नलगाई नेपाली चिया आयात गरिरहेको छ ।
माग व्यवस्थापन गर्न भारतीय व्यवसायीले नेपाली उत्पादकले तोकेकै मूल्यमा चिया लगिरहेको उत्पादकले बताएका छन् । चिया सहकारी सङ्घका केन्द्रीय अध्यक्ष हर्क तामाङले भारतमा सात प्रतिशतले सिटिसी चियाको उत्पादनमा कमी आउँदा नेपाली उत्पादकले राम्रो मूल्यमा चिया बिक्री गरेको बताउनुभयो ।
उहाँका अनुसार प्रतिकिलो १८५ भारतीय रुपियाँसम्ममा सिटिसी चिया बिक्री भएको छ । भदौ र असोजमा चियाको निर्यात बढे पनि कात्तिकमा भने नेपाली चियाको गुणस्तर केही कम हुँदा व्यापार केही कम भएको उहाँले बताउनुभयो । यद्यपि आगामी डेढ वर्ष नेपाली चियाले राम्रो मूल्य पाउन सक्ने सम्भावना देख्नु हुन्छ उहाँ ।
माग बढ्दा नेपालबाट निर्यात हुने चियाको परिणाम पनि ह्वात्तै बढेको छ । यसअघि भारतीय व्यवसायीले वार्षिक ४५ लाख किलो धुलो चिया नेपालबाट लैजाने गरेकामा अहिले तीन महिनामै ६५ लाख किलोभन्दा बढी चिया लगेको बोर्डले जनाएको छ ।
भारत निर्यात सिटिसी चिया झापामा मात्रै उत्पादन हुने गर्छ । झापा मात्रै वार्षिक दुई करोड किलो सिटिसी चिया उत्पादन हुने बोर्डको तथ्याङ्क छ । इलाम, पाँचथर, धनकुटा, तेह्रथुम जस्ता चिया धेरै उत्पादन हुने जिल्लामा उत्पादन हुने चिया अर्थोडक्स चिया हो । अर्थोडक्स चियाको निर्यात भने विगतमा जस्तै सामान्य नै रहेको छ ।