• ३० कात्तिक २०८१, शुक्रबार

‘अख्तियारसँग डराउनु पर्दैन’

blog

प्रमुख आयुक्त प्रेमकुमार राई

गोरखापत्र समाचारदाता 

कठमाडौँ, कात्तिक ३० गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पदीय जिम्मेवारीमा रहने सबैले कानुनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोग/संरक्षण गर्नुपर्ने बताउनुभएको छ । 

सुशासन, सेवा प्रवाह र विकास निर्माणसम्बन्धी समस्याका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारका सचिव, प्रदेश सरकारका प्रमुख सचिव तथा विभागीय प्रमुखबिच बुधबार र बिहीबार चलेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख आयुक्तले यस्तो बताउनुभएको हो ।  आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उक्त कार्यक्रममा प्रमुख आयुक्तले असल नियतले कानुनले दिएको अधिकार प्रयोग गरेर जिम्मेवारीपूर्वक काम गर्दा आयोगसँग डराउनुपर्ने अवस्था नभएको सुझाउनुभयो । विकासका काममा आइपरेका समस्या समाधान गर्न समन्वयका लागि आयोग तत्पर रहेकोले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले समेत आआफ्नो जिम्मेवारी मनन गरेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सचिव तथा प्रदेश सरकारका प्रमुख सचिवहरूले आआफ्नो निकाय र कार्यक्षेत्रमा आइपरेका समस्या तथा आयोगबाट पठाइएका सुझाव कार्यान्वयनको अवस्था तथा आयोगसँगको अपेक्षा प्रस्तुत गर्दै आयोगका पदाधिकारीले राखेका जिज्ञासाको समेत जवाफ दिनुभएको थियो ।

कार्यक्रममा अर्थ सचिव डा. रामप्रसाद घिमिरेले आयोजना व्यवस्थापन प्रभावकारी हुन नसकेको, साना तथा टुक्रे आयोजनामा बजेट विनियोजन हुने गरेको, बिनातयारी र प्रतिफल सुनिश्चित नभएका आयोजनामा बजेट विनियोजन हुने गरेको, बहुवर्षीय आयोजनाको अत्यधिक स्रोत सुनिश्चितता गरेका कारणले राज्यकोषमा दबाब सिर्जना भएको कुरा औँल्याउँदै बजेट निर्माण गर्दा यथार्थमा आधारित हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सुशासन कायम गर्ने कार्य सबै निकायका प्रमुखको रहेको बताउनुभयो ।