• ८ पुस २०८१, सोमबार

बढ्यो वायु प्रदूषण

blog

काठमाडौँ, कात्तिक ३० गते । नेपालमा वायु प्रदूषण उच्च हुँदै गएको छ । केही दिनयता वायु प्रदूषण उच्चस्तरले बढ्दै गएको वातावरण विभागले जनाएको छ । 

विशेष गरी काठमाडौँ उपत्यकामा वायु प्रदूषणको भार बढेको विभागका उपमहानिर्देशक शैलेशकुमार झाले बताउनुभयो । उहाँका अनुसार अन्यत्रबाट आएका प्रदूषणका कण काठमाडौँ उपत्यकामा थुप्रिन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धुलो–धुवाँयुक्त वायु भारतबाट नेपालको तराई हुँदै काठमाडौँ उपत्यकामा आइरहेको छ, यो क्रम बुधबारबाट अलिक बढेको हो ।” उहाँका अनुसार बिहान घाम लाग्नुअघि र साँझ हुँदै जाँदा तल्लो वायुमण्डल धुलोका कणले कडा तुवाँलो बन्न थालेको छ । 

विभिन्न स्थानमा राखिएका वायु प्रदूषण मापन स्टेसनले बुधबार केही दिनयताकै उच्च प्रदूषण रेकर्ड गरेको छ । जस अनुसार उपत्यकाको खुमलटारमा वायु प्रदूषणको गुणस्तर १६९ एक्युआई रेकर्ड भएको थियो । त्यस्तै काठमाडौँको मुटु मानिने रत्नपार्क अत्यधिक प्रदूषित देखाएको छ । यहाँ वायुको गुणस्तर १६५ एक्युआई मापन भएको छ । वायुको गुणस्तर एक सय एक्युआईभन्दा माथि गएमा मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । त्यसपछि चितवनको भरतपुरको वायु गुणस्तर १६१ एक्युआई रेकर्ड भएको थियो । भक्तपुर क्षेत्रको वायु अस्वस्थकर देखिएको छ । बिहीबार पनि काठमाडौँ उपत्यकाको रत्नपार्क, खुमलटार, भक्तपुर, शङ्खधर पार्क क्षेत्रको वायुले अन्यत्रभन्दा बढी प्रदूषित रेकर्ड बनाएको छ । 

झाले थप्नुभयो, “सचेतना बढाउनुपर्ने देखिएको छ ।” उहाँका अनुसार काठमाडौँमा चल्ने धुवाँयुक्त सार्वजनिक तथा निजी सवारीसाधनले वायु प्रदूषणलाई बढावा दिइरहेका छन् । 

सुक्खा मौसमले बढाएको प्रदूषण

सुक्खा मौसमका कारण भारतसहित नेपालमा वायु प्रदूषण बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् मीनकुमार अर्यालका अनुसार नेपालको पश्चिमी भेग हुँदै नेपालमा प्रदूषणयुक्त वायु आइरहेको छ । तल्लो वायुमण्डलको पाँच किलोमिटरमाथिबाट धुलाको बाक्लो कणसहितको प्रदूषित वायु नेपाल भित्रिँदा बिहान– बेलुका तल्लो वायुमण्डलमा बाक्लो तुवाँलो लाग्न सुरु भएको अर्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसो बढ्दै जाँदा वायुको चाप माथिबाट तल सर्दै जान्छ, यस्तोमा वर्षा र हावाको वेग कम हुँदा प्रदूषण बढ्ने गर्छ ।” 

हावा कम रहेको अहिलेको समयमा उपत्यकामा प्रदूषण रुमलिएर बसेको छ । भारतको राजस्थानको मरुभूमिबाट तातो हावाले उडाएको धुलोसहितको वायु नेपालतर्फ आइरहेको छ । यो प्रदूषित वायु हल्कादेखि मध्यम वर्षा नभएसम्मका लागि कायम रहने अनुमान महाशाखाले गरेको छ ।