• ११ पुस २०८१, बिहिबार

रविलाई ७० लिखित प्रश्न : जवाफ सधैँ एउटै

blog

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । फाइल तस्बिर

लक्ष्मण पौडेल 

भैरहवा, कात्तिक २९ गते । सहकारी बचत अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तीन दिनमा सकिएको छ । मङ्गलबार रुपन्देही ल्याइएका लामिछानेलाई तीनसम्म लगातार बयान लिइएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय भैरहवामा लामिछानेलाई पहिलो दिन मौखिक प्रश्न सोधिएको थियो भने दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफ मागिएको थियो । त्यसक्रममा लामिछानेले सहकारी ठगीमा संलग्नता ठाडै अस्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीहरुको दावी छ ।

अनुसन्धानमा संलग्न रहेका एक अधिकृतका अनुसार उहाँले सोधिएका सबै प्रश्नमा आफू कतै पनि सहभागी नभएको दाबी गर्नुभएको छ । हरेक प्रश्नको सहजै जवाफ दिएको र सबै प्रश्नको जवाफमा आफ्नो संलग्नता अस्वीकार गरेको तथा सहकारी रकमका विषयमा जीवी राई र सागर केसीलाई सोध्नुस् भन्दै पन्छिएको ती अधिकृतले बताए ।

२६ दिनदेखि सहकारी ठगी र सङ्गठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मङ्गलबार रूपन्देही ल्याइएको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपियाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपियाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

रविले उक्त रकम आफूले आवेदन दिएर नलिएको बताए पनि आफू सम्बद्ध खातामा कसरी जम्मा भयो भन्ने विषयमा केही विरोधाभासपूर्ण अभिव्यक्ति दिएको बताइएको छ । साथै जुन ठेगाना उल्लेख गरिएको छ, त्यो रवि लामिछाने को हो त भन्ने विषयमा पनि उहाँले फरक फरक कुरा बताउनु भएको छ ।

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो । 

अहिले सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङको बयान भइसकेको छ ।