कमल खत्री
धम्बोझी, कात्तिक २९ गते । होटल सिद्धार्थ नेपालगन्जले नेपालगन्जमा ‘रन फर वेटर हेल्थ’ स्लोगन राख्दै रोड रेस कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व मधुमेह दिवसको अवसरमा आयोजित रोड रेस कार्यक्रममा होटल सिद्धार्थ कारकाँदो, सिद्धार्थ कटेज धम्बोझी र ज्याकपट क्यासिनोका कर्मचारी, विभिन्न पेसाकर्मी,पत्रकार लगायतको सहभागिता रहेको थियो ।
रोड रेस सिद्धार्थ कटेज धम्बोझीबाट सुरु भई होटल सिद्धार्थ कारकाँदोमा पुगेर समापन भएको थियो । होटल सिद्धार्थ नेपालगन्जका मार्केटिङ म्यानेजर नवीन भट्टका अनुसार रोड रेसमा पुरुष तर्फ सत्यनारायण धोबी प्रथम हुनुभएको छ ।
निर्धारित दुरी १२ मिनेट ४६ सेकेन्डमा पुरा गरेर धोबी प्रथम हुनुभएको हो । यस्तै कैलाश थापामगर दोस्रो र अमित रावल तृतीय हुनु भयो । विजेताहरूले क्रमशः १२ मिनेट ५३ सेकेन्ड र १३ मिनेट १३ सेकेन्डमा निर्धारित दुरी पुरा गर्नु भएको थियो ।
रेसमा महिला तर्फ श्रेया सुनार प्रथम, सङ्गीता नेपाल दोस्रो र आरती चौधरी तृतीय हुनुभयो । उहाँहरूले निर्धारित दुरी क्रमशः १७ मिनेट ४९ सेकेन्ड, १८ मिनेट र १८ मिनेट ६ सेकेन्डमा पुरा गरेको आयोजक होटल सिद्धार्थले जानकारी दिएको छ । विजेतालाई नगद र मेडलले पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले निष्क्रिय जीवनशैली एवम् शारीरिक व्यायाममा कमी भएमा मधुमेह लगायत नसर्ने रोगहरूको सिकार हुनुपर्ने भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
दिनमा साढे १ घण्टा मात्र भए पनि शारीरिक व्यायामका लागि समय छुट्याउन आग्रह गर्दै प्रमुख विष्टले सबैभन्दा ठुलो धन स्वास्थ्य नै हो भन्ने कुराको मनन गर्न आवश्यक रहेको औँल्याए ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका क्षेत्रीय निर्देशक केशव न्यौपानेले होटल सिद्धार्थले कर्मचारीहरूका लागि प्रत्येक हप्ता विभिन्न किसिमका कार्यक्रमहरूको आयोजना गर्दै आएको भए पनि यस पटक भने मधुमेह दिवसका अवसरमा केही सन्देश दिन रोड रेसको आयोजना गरिएको बताउनुभयो ।
स्वास्थ्य नै धन हो भन्ने सन्देश दिन गरिएको कार्यक्रमले पाएको साथका कारण आगामी वर्षहरूमा यसलाई मिनी म्याराथनमा लैजाने कार्यकारी निर्देशक न्यौपानेले बताउनुभयो ।
कार्यक्रम होटल सिद्धार्थले नेपालगन्ज म्याराथन र नेपालगन्ज साइक्लिङ क्लबसँगको सहकार्यमा सम्पन्न गरेको हो । लामो समय देखि हस्पिटालिटी क्षेत्रमा सेवा दिँदै आएको सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत मुलुक भर ३४ वटा होटल, रिसोर्ट, क्याफे, ट्राभल लगायत सञ्चालित छन् ।