• २६ मंसिर २०८१, बुधबार

बाँकेमा योजनाको काम कार्यान्वयनमा

blog

सहरी विकास तथा भवन कार्यालय नेपालगञ्ज अन्तर्गत विनियोजन भएका योजनाको अनुगमन गर्दै प्रदेश सभा सदस्य रत्न खत्री सहितको टोली । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, कात्तिक २९ गते । लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ मा विनियोजित योजनाहरू कार्यान्वयन थालेको छ । 

कार्यालय प्रमुख रामआश्रय साहले कार्यालय अन्तर्गत करिब दुईसय योजना चालु आवका लागि छनौटमा परेको जानकारी दिँदै ती योजनाहरू कार्यान्वयन सुरु गरेको बताउनुभयो ।  कार्यालयका अनुसार अधिकांश योजनाहरू सडक र नालीका छन् ।

कार्यालय प्रमुख साहले भन्नुभयो, "चालु आवमा छिटो भन्दा छिटो योजनाको काम सम्पन्न गर्ने गरी केही योजनाहरूको टेण्डर समेत आव्हान गरिएको छ ।" कार्यालय प्रमुख साहका अनुसार करिब ५० योजनाको टेण्डर प्रकाशन भइसकेको छ । केही योजना सम्झौताको क्रममा रहेको कार्यालयले जनाएको छ । 

बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री रत्न खत्रीले प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट सडक निर्माण, पुल निर्माण लगायतका योजनाहरूको धमाधम काम भइरहेको भन्दै समयभित्रै गुणस्तरीय काम होस भनेर आफूहरू समयसमयमा अनुगमनमा आउने गरेको बताउनुभयो ।

खत्रीले भन्नुभयो, "प्रदेश सरकार स्थापनापछि धेरै विकास निर्माणका काम भएका छन्, यसबारे जनतालाई बुझाउनुपर्ने देखिएको छ ।"

प्रदेश सरकारको बजेटमा पाँचलाख भन्दा कम बजेटका योजना समेत समवश भएकाले कार्यान्वयनका लागि समस्या हुने गरेको कर्मचारीहरूले बताएका छन् । प्रदेश सरकार अन्तर्गत, सहरी विकास तथा भवन कार्यालय, सडक पूर्वाधार कार्यालय, सामाजिक विकास डिभिजन कार्यालय, पर्यटन डिभिजन कार्यालय, जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय लगायतका कार्यालयहरूले विकास निर्माण सम्बन्धी काम गर्दै आइरहेका छन् ।