• २६ मंसिर २०८१, बुधबार

विश्व मधुमेह दिवसमा घोराहीमा प्रभातफेरी

blog

विश्व मधुमेह दिवसका अवसरमा आयोजना गरिएको प्रभातफेरीमा सहभागीहरु । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, कात्तिक २९ गते । विश्व मधुमेह दिवसका अवसरमा घोराहीमा सचेतनामूलक  र्‍याली गरिएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतको सहभागितामा सचेतनामूलक र्‍याली गरिएको हो । 

बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक प्राइभेट लिमिटेड, नेपाल घरेलु उद्योग महासङ्घ दाङ र लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको संयुक्त आयोजनामा भएको र्‍याली सहिदगेट, तुलसीपुरचोक, दामोदरचोक, बैंक रोड, हस्पिटल रोड हुँदै कार्यक्रम स्थल बिएस डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक प्राइभेट लिमिटेडको कार्यालयमा पुगेर सकिएको थियो । 

प्रभातफेरी कार्यक्रमपछि बोल्ने वक्ताहरुले मधुमेह रोग नियन्त्रणका लागि खानपिनसँगै नियमित व्यायाम आवश्यक रहेको बताउनुभएको थियो । शरीरमा खानपिनको मात्र नमिल्दा पछिल्लो समय अधिकांशमा सुगरको अवस्था देखिएको भन्दै डा. प्रकाश सुवेदीले खानपिनसँगै नियमित एक्साइज आवश्यक रहेको बताउनुभयो ।

सुगरको मात्रा बढ्दा स्वास्थ्य नै जोखिम रहने गरेको भन्दै डा. सुवेदीले मधुमेहबाट बच्नका लागि खानपिनमा ध्यान दिनुका साथै नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताउनुभयो । शरीरमा सुगरको मात्र बढ्दा मृगौला, आँखा, मुटुरोगको जोखिम बढाउनुका साथै पक्षघात समेत हुने जोखिम रहेको भन्दै डा. सुवेदीले भन्नुभयो, ‘सुगर रोगका कारण स्वास्थ्यमा अनेक समस्या आउन सक्छन् । त्यसले सुगरलाई शरीरमा लाग्न नै नपाउने गरी ध्यान दिनुपर्छ ।’ 

कार्यक्रममा घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य नै हरेक नागरिकको महत्वपूर्ण सम्पत्रति भएकाले आफ्नो स्वास्थ्यमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । जति धन पैसा कमाए पनि स्वास्थ्यमा समय दिइएन भने त्यो काम नलाग्ने भन्दै नगरप्रमुख चौधरीले हरेक नागरिकले दैनिक दुई घण्टा व्यक्तिगत स्वास्थ्यका लागि योग, व्यायामलगायतका शारीरिक अभ्यासका काम गर्नुपर्ने बताउनुभएको थियो । 

शारीरिक अभ्यास हुने काम नगर्ने तर मिठो मिठो खाने बानी बस्दा धेरै मानिस बिरामी हुने र धेरै पैसा खर्च भइरहेको भन्दै त्यसलाई रोक्नका लागि व्यक्तिगत स्वास्थ्यमा हरेक नागरिकले ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले योग व्यायामका लागि प्रत्येक वडामा योगहल बनाउने काम गरिरहेको भन्दै त्यसले सहयोगी भूमिका खेल्ने बताउनुभयो । 

मधुमेह दिवसका अवसरमा ६३ जना बढीको सुगर परीक्षणसमेत गरिएको थियो ।