• ११ पुस २०८१, बिहिबार

कलाकारद्वयसँग ललितकला संवाद

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागको आयोजनामा बुधबार कलाकार इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारसँग ललितकला संवाद सम्पन्न भएको छ । कलाकारद्वय इन्द्रप्रसाद शिल्पकार र रविता शिल्पकारले परम्परागत नेवारी वास्तुकला अन्तर्गतको  मौलिक शिल्पकला तथा आधुनिक प्रविधिको सर्वोत्तम उदाहरणका रूपमा लिन सकिने यस सिर्जनाको प्राविधिक र कलात्मक पक्ष निर्माण गरिनुको उद्देश्यलगायतका विषयमा बताउनुभयो । 

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकलाभित्र मुख्य रूपमा ध्यानाकर्षण कम हुने वास्तुकला क्षेत्रप्रति प्रतिष्ठान र राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले शिल्पकार परिवारले वास्तुकलाको नमुनाका रूपमा बनाएको घर वास्तवमै नमुना रहेको उल्लेख गर्नुभयो । उहाँले सङ्कटमा रहेको यो नेवारी शैलीको ज्ञानलाई आगामी पुस्तामा पुस्तान्तरण गर्दै शिल्पकार परिवारको वास्तुकला, काष्ठकला तथा नेपाली मौलिक वास्तुकलाको ज्ञानलाई संरक्षण, प्रवर्धन तथा प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा राख्नुभयो । “आगामी दिनमा हामी ओझेलमा परेका यस्ता विभिन्न कलाको क्षेत्रमा क्रियाशील तथा अग्रज कलाकारलाई समेट्ने प्रयास गर्ने छौँ,” दर्शनधारीले भन्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, लोककला विभाग प्रमुख प्रदीप अधिकारी तथा विभिन्न कलाकार, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।