जानु पाण्डे
कपिलवस्तु, कात्तिक २८ गते । कपिलवस्तुको बाणगंगा नगरपालिकाले स्थानीय कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।
कृषकले माग गरेअनुसार बाणगंगा, गौतम, विजय, भृकुटी र एनएल ९७१ जातका गहुँको बीउ वितरण गरिएको छ । नगरपालिकाको ३८ लाख ५० हजार लगानीमा पालिकामा सूचिकृत कृषकको मागअनुसार बीउ खरिद गरिएको नगरप्रमुख चक्रपाणि अर्यालले बताउनुभयो ।
खरिद गरिएका बीउ कृषक, समूह तथा सहकारीमा आबद्ध १ हजार २५६ जना वितरण गर्न सुरु भएको नगरपालिकाका कृषि शाखा प्रमुख लेषबहादुर केसीले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले कृषि क्षेत्रलाई उकास्नका लागि नीति तथा कार्यक्रममार्फत बजेट विनियोजन भएको बताउनुभयो ।