• १९ पुस २०८१, शुक्रबार

धनगढीमा हरेक शनिबार महिला स्वरोजगार मेला

blog

धनगढी उपमहानगरपालिकाको कार्यालय। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, कात्तिक २८ गते। आउँदो शनिबारदेखि धनगढीमा महिला स्वरोजगार मेला लाग्ने भएको छ। धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा स्वरोजगार मेला लाग्ने भएको हो। 

महिलालाई उद्यमतिर अग्रसर गराउने उद्देश्यका साथ हरेक शनिबार महिला स्वरोजगार मेला लाग्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताउनुभयो। उहाँले विभिन्न सीप सिकेर सदुपयोग गर्न नसकेका महिलालाई मेलामा अवसर दिइने बताउनुभयो।  

“यो मेलामा महिलाले आफूले पकाउन जानेका परिकार पकाएर बिक्री गर्न सक्नेछन्”, नगर प्रमुख हमालले भन्नुभयो,“यसैगरी, ढकिया लगायत विभिन्न हस्तकलाका सामग्री पनि बेच्न सक्ने छन्। मेला हरेक शनिबार लाग्ने छ।” सीप सिकेर व्यावसायिक बन्न नसकेका महिलालाईमात्रै मेलामा सहभागी गराउने उहाँको भनाइ थियो। धनगढी उपमहानगरपालिकाको व्यवस्थापनमा धनगढी उपमहानगरपालिका–१ स्थित पार्क मोड अगाडि मेला लाग्ने जनाइएको छ। 

मेलाका लागि स्टल, टेन्ट, टेबुल, मोबाइल शौचालय लगायतको व्यवस्थापन धनगढी उपमहानगरपालिकाको कार्यालयले गर्ने जनाइएको छ। स्टल निःशुल्क रुपमा उपलब्ध गराइने बताइएको छ। पहिलो पटक धनगढी उपमहानगरवासी महिलालाई मात्रै मेलामा सहभागी गराइने हमालले बताउनुभयो। पछि छिमेकी पालिकाका महिलालाई पनि समेट्ने उहाँको भनाइ छ। 

धनगढी उपमहानगरपालिकाले युवा लक्षित रात्रिकालीन मेला पनि धनगढीमा सञ्चालन गर्ने जनाएको छ।