मोरङ, कात्तिक २८ गते । गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच बढेसँगै परम्परागत रुपमा नाचिँदै आएको सङ्गिनी नाच लोपोन्मुख भएको छ ।
यसको संरक्षण र पुस्तान्तरणमा पथरी शनिश्चरे ३ शान्ति टोलका महिलाहरू लागिपरेका छन् । यहाँ रहेको महिला जागरूक हरिकीर्तन तथा सङ्गिनी समूहले सङ्गिनी नाचको प्रचारप्रसार गर्न र नयाँ पुस्तामा यसका बारेमा जानकारी दिन प्रत्येक हप्ताको मङ्गलबार साँझ सङ्गिनी प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेको छ ।
पछिल्लो समय यो समूहले सङ्गिनी नाच संरक्षणमा गरेको काम प्रशंसनीय रहेको स्थानीयहरू बताउँछन् । विशेष गरी विवाह, पूजा, पुराण समारोह उत्सव आदिमा सङ्गिनी नाचिने र सो नाचमार्फत महिलाले आफ्नो पीडा पोख्ने गरेका थिए ।
बिस्तारै पश्चिमा संस्कृतिको बढ्दो प्रभावले अहिले सङ्गिनी एकादेशको कथा जस्तै बनेको छ । कुनै समय नेपालमा नै सङ्गिनीको हाइहाइ थियो । मान्छे टाढाटाढाबाट बालन र सङ्गिनी हेर्न पुग्थे । विगत चार वर्षदेखि यस समूहले आफ्नै खर्चमा सङ्गिनी संरक्षणका लागी आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्दै आएका छन् ।
गाउँका थोरै महिलाहरू भेला भएर गाउँमै खेल्दै आएको सङ्गिनीलाई हाल छिमेकी पालिकाहरूले समेत बोलाउन थालेका छन् । मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै प्रचारप्रसारमा लागि परेको महिला जागरूक हरिकीर्तन तथा सङ्गिनी समूहलाई पुरुषहरूले समेत साथ दिन थालेका छन् । विवाह गरेर गएका महिलाहरूले आफ्ना मनमा लागेका वेदनाहरू गीतका माध्यमबाट पोख्ने ठ्याउनै सङ्गिनी भएको बताउनुहुन्छ स्थानीय खगेन्द्र लुइँटेल ।
सङ्गिनीमा महिलाका दुःख सुखका कुराहरू, जाँतो पिस्दादेखि ढिँकी कुट्दासम्मका कुरा गीतका माध्यमबाट पोख्ने गरिन्छ । खास गरी ब्राह्मण, क्षेत्री समुदायमा नाचिने बालन पश्चिमा संस्कृतिको प्रभाव बढेसँगै समाजमा हराउँदै गएको हो । जुनसुकै शुभ कार्यमा सङ्गिनी नाचिने गरिन्थ्यो । झन्डै डेढ दशक अघिसम्म गाउँघरमा बालन नाचेको स्मरण स्थानीय भुवनेश्वर पोखरेलको रहेको छ ।
१४ वर्ष अगाडि भजन कीर्तन गर्न बनेको समूहले अब भजन कीर्तन गरेर मात्र हुँदैन भन्ने हेतुले लोप हुँदै गरेको सङ्गिनीको पनि संरक्षण गर्न थालेका हुन् । पाँच वर्ष अगाडिदेखि सङ्गिनी ठाउँठाउँमा देखाउँदै आएको समूहकी अध्यक्ष देवीमाया पोखरेल बताउनुहुन्छ ।
पश्चिमा संस्कृतिको प्रभावकाबिच सङ्गिनी के हो ? भन्ने पुस्तालाई चिनाउन यसरी साप्ताहिक रुपमा प्रशिक्षण थालिएको हो । सामूहिक रुपमा सुरुवात गरेको सङ्गिनी प्रशिक्षणले समाजमा समेत सकारात्मक प्रभाव बनाएको छ । सङ्गिनी प्रशिक्षणले बालबालिकाहरूमा पनि नैतिकवान्, अनुशासन र संस्कारको विकास हुँदै आएको छ । हजुरआमा, आमासँगै सङ्गिनी प्रशिक्षण गरिरहेकी अपेक्षा खतिवडा यसले आफ्नो संस्कारबारे थप जान्ने मौका मिलेको बताउनुहुन्छ ।
पश्चिमा संस्कृतिको प्रभाव बढिरहँदा यो समूह मौलिक परम्परा रहेको सङ्गिनी संरक्षणमा लागिरहेको छ । हाल झापा मोरङ र सुनसरीका क्षेत्रमा हुने धार्मिक समारोहमा सङ्गिनी प्रस्तुत गर्न उक्त समूहलाई निमन्त्रणा हुन थालेको छ । भजन कीर्तन गर्दै गरेको समूहले सङ्गिनी संरक्षणमा काम गर्न थालेपछि यसलाई सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भएको छ । हाल यस समूहमा पथरी शनिश्चरे ३ शान्ति टोलका ३५ घर परिवार यो कार्यमा सहभागी रहेका छन् । लोप हुन लागेको संस्कारलाई पाँच वर्षदेखि संरक्षण गर्दै आएको बताउनुहुन्छ समूहकी सचिव यशोदा पोख्रेल ।
महिलाहरूले आफ्ना पीडा गीतमार्फत प्रस्तुत गरी नाचमार्फत पहिला पहिला प्रस्तुत गर्ने गरेको सङ्गिनी अहिले बिस्तारै हराउँदै गएको छ । मौलिक तथा परम्परागत नाचका रुपमा रहेको सङ्गिनीको संरक्षणका लागि समूहले आमा पुस्ताबाट बुहारी र नातिनी पुस्तालाई भेला गराई प्रशिक्षण दिने गरेको नर्मदा खतिवडा बताउनुहुन्छ ।
युवापुस्तामा परम्परागत संस्कृतिको हस्तान्तरण हुनुपर्ने र यसको महत्त्व सबैमा गराउनसके हराउँदै गएको मौलिक संस्कारसहितको संस्कृतिको संरक्षण हुने देखिन्छ । मौलिक संस्कार बोकेका सङ्गिनी र बालनलाई महिला जागरूक हरिकीर्तन तथा सङ्गिनी समूहले जस्तै हजुरआमा पुस्ताबाट नातिनी पुस्तासम्म पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने देखिएको छ ।