• २ मंसिर २०८१, आइतबार

कालो सुनको बजार

blog

कुनै पनि देशमा वस्तु तथा सेवाको उत्पादनमा आआफ्नै विशेषता हुन्छन् । एउटै मुलुकले हरेक वस्तु तथा सेवा उत्पादन गर्न सक्दैन । प्रकृतिले दिएको भूगोल, हावापानी, माटो आदि विशेषताले वस्तु उत्पादनमा ठुलो भूमिका खेल्छ । सेवा क्षेत्रमा पनि त्यसै गरी अनेक विशेषता निहित हुन्छ । कतिपय मुलुकले पर्यटकीय सेवाबाटै देशको आर्थिक समृद्धि हासिल गरेका छन् । कतिपय खाडी मुलुकले अहिले हवाई सेवाबाट देशको आर्थिक अवस्था सुधार गरिरहेका छन् । वस्तु तथा सेवा उत्पादन गर्न प्रकृतिले दिएको विशिष्ट अवस्थालाई मानिसको श्रम, सिप, मेहनत तथा व्यवस्थापनले अब्बल आयमा परिणत गर्छ । मानिसले प्राप्त गर्ने आय व्यक्ति, परिवार र समाजका निम्ति त उपलब्धिमूलक हुन्छ नै, साथसाथै देशको अर्थतन्त्र सुधार गर्न पनि सहयोगी बन्छ । नेपालको पूर्वी पहाडी भेगमा उत्पादन हुने अलैँची बर्सौंदेखि बाह्य विश्वमा नेपाल चिनाउने उत्पादन भएको छ । नेपाली कृषि अर्थतन्त्रलाई महत्वपूर्ण टेवा दिँदै छ ।

अलैँची नेपालको महत्वपूर्ण नगदे बाली हो । पूर्वी पहाडको ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभालगायतका जिल्लामा उत्पादन हुने अलैँचीको अति न्यून अंश मात्र देशभित्र खपत हुन्छ । उत्पादित अधिकांश अलैँची देशबाहिरैै निर्यात हुन्छ । देशबाहिर निर्यात हुने भएर पनि यो अब्बल नगदे बाली हो । विदेशमा यसको राम्रो भाउ छ । यो वर्ष त अझ अलैँचीले राम्रो भाउ पाएको खबरले किसानमा खुसी छाएको छ । इलाम अलैँची उत्पादन हुने प्रमुख जिल्ला हो । अहिले त्यहाँका किसान स्थानीय बजारमै अलैँचीले राम्रो भाउ पाएपछि अति नै हर्षित छन् । अलैँचीको कारोबार प्रायः मनमा हुने गरेको छ । एक मनमा ४० केजी अलैँची हुन्छ । स्थानीय बजारमै प्रतिमन एक लाख रुपियाँमा अलैँचीको कारोबार भएपछि किसानमा स्वाभाविक खुसी छाएको हो । केही वर्षयतादेखि अलैँचीले राम्रो भाउ पाउन नसक्दा किसान निराश थिए तर लभगभ १२ वर्षपछि अलैँचीले राम्रो भाउ पाउँदा आफूहरू खुसी भएको किसानको भनाइ छ ।

अलैँची फस्टाउनका निम्ति राम्रो र समथर जमिन मात्र आवश्यक हुँदैन । पहाडी भेगका खोल्साखोल्सी, भिरालो जमिन, कान्ला आदिमा समेत अलैँची राम्ररी फस्टाउँछ । त्यसैले कतिपयले यसलाई ‘खोल्सीको सुन’ पनि भन्छन् । ओसिलो तर घाम लाग्ने जमिनमा सप्रने अलैँची उत्तिसघारीमा अझ फस्टाउने गर्छ । उत्तिसको पात झरेर बनेको पत्कर मल अलैँचीका निम्ति उपयोगी हुन्छ । उत्तिसले प्रत्यक्ष शीतबाट बच्न अलैँचीलाई छहारीको पनि काम गर्ने हुनोले अलैँचीसँगै उत्तिसका काठको उत्पादनले अलग्गै आय पनि दिन्छ । अलैँची कालो रङको मसला भएकाले यसलाई कतिपयले ‘कालो सुन’ समेत भन्छन् । नेपालसँगै भारतको पूर्वोत्तर, भुटान, चीनलगायतका सीमित देशमा अलैँचीको उत्पादन हुने भए पनि नेपालको अलैँचीलाई नै विश्व बजारमा अब्बल मानिने जानकारको भनाइ छ ।

अलैँची मुख्यतया मसलाका रूपमा खानामा प्रयोग गरिन्छ । भारतलगायत दक्षिण एसिया, खाडी मुलुकमा यसको प्रयोग मसलाका रूपमा गरिन्छ । यो औषधीजन्य, मसलाजन्य वस्तु त हुँदै हो; साथसाथै यसको प्रयोग औषधी उत्पादनमा कच्चा वस्तुका रूपमा समेत गरिने हुँदा विश्व बजारमा यसको माग निरन्तर नै हुने गर्छ । आयुर्वेदमा  कफ, वाथ र पित्त सन्तुलनका साथै अनेक रोगव्याधीमा अलैँचीले फाइदा दिने बताइन्छ । विश्व बजारमा यसको आकर्षण निरन्तर भए पनि नेपालले अलैँची उत्पादनको प्रयासलाई फैलावट दिन सकिरहेको छैन ।

पूर्वी पहाडमा मात्र होइन, ओसिलो र भिरालो जमिनमा हुने अलैँची खेती देशका अन्य भागमा पनि विस्तारको राम्रो सम्भावना छ । दोलखा, रामेछाप, नुवाकोट, लमजुङ, कास्कीलगायतका जिल्लामा पनि अलैँचीको उत्पादन विस्तारको राम्रो सम्भावना भएको विज्ञको भनाइ छ तर परम्परागत रूपमा पूर्वी पहाडी भेगका सीमित जिल्ला र स्थानमा बाहेक अलैँचीको व्यावसायिक विस्तार विरलै भएको पाइन्छ । देशभित्र रोजगारी पाउन नसकेर दैनिक दुई÷तीन हजार नेपाली युवा बिदेसिने गरेका छन् । विश्व बजारलाई नै आकर्षण गर्न सक्ने अलैँचीको व्यावसायिक उत्पादनको राम्रो सम्भावना छ । व्यावसायिक उत्पादन विस्तार गर्न सक्दा यसले आम्दानीको दिगो बाटो दिने छ । एक पटक लगाएको अलैँचीले रोगव्याधीबाट बचाउन सक्दा २५ औँ वर्षसम्म निरन्तर उत्पादन दिइरहन्छ । अलैँची बगानले पर्यावरणलाई हरियाली मात्र बनाउँदैन, भूक्षयको नियन्त्रणसमेत गर्छ । बहुउपयोगी अलैँची खेती विस्तारमा सरोकार सबैको ध्यान जानु जरुरी देखिन्छ ।