• ११ पुस २०८१, बिहिबार

बागमतीमा बढ्यो मन्त्रालय

blog

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिनुहुँदै । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, कात्तिक २७ गते ।
 बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या १३ बाट बढाएर १४ वटा बनाएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले १३ वटा मन्त्रालय रहेकोमा फुटाएर १४ वटा बनाउने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बागमती प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०८० को अनुसूचीमा हेरफेर गर्ने निर्णयसहित सहकारी तथा गरिबी निवारण मन्त्रालय थप गर्ने निर्णय बैठकले  गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ वटा मन्त्रालय रहेको र बढाएर १४ वटा बनाइएको हो ।

उहाँले उक्त मन्त्रालयको जिम्मेवारी हाल विना विभागीय मन्त्री रहनुभएका मदुकुमार श्रेष्ठलाई दिने गरी तयारी भएको छ । गत साउन ९ गतेपछि जिम्मेवारी तोकिने गरी मन्त्रीमा नियुक्त हुनुभएका धादिङका श्रेष्ठ १११ दिनदेखि जिम्मेवारीविहीन अवस्थामा रहनुभएको थियो ।

खर्चमा मितव्ययिता अपनाउने प्रतिबद्धतासहित बनेको मुख्यमन्त्री बहादुर सिं लामा तामाङको सरकारले प्रदेश सरकारलाई आर्थिक दायित्व बढ्ने गरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई फुटाएर मुख्यमन्त्री कार्यालयमा रहेको गरिबी निवारण फाँटलाई गाभेर नयाँ मन्त्रालय बनाइएको छ ।

बैठकले निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरूलाई कामकाजमा खटाउने, स्वास्थ्य मन्त्रालयका सचिवको अनिवार्य अवकाशलाई स्वीकृत गर्ने, प्रदेशको आर्थिक सुधारका लागि कार्यदल बनाउने लगायतका निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।