• २८ वैशाख २०८१, शुक्रबार

कूटनीतिज्ञको बुझाइमा मोदीको भ्रमण

सम्बन्ध विस्तारमा सफल

blog

काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गर्नुभएको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताउनुभएको छ । २५६६औँ बुद्ध जयन्तीको अवसर पारेर सोमबार लुम्बिनीमा भएको मोदीको भ्रमण पाँचौँ र उहाँ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएयताको पहिलो रहेको छ । 

यसरी मोदीबाट पटक पटक नेपाल भ्रमण हुनुले दुई मुलुकबीचको सम्बन्ध सही मार्गमा छ भन्ने सन्देश गएको पनि उहाँहरूको बुझाइ छ । सरसर्ती हेर्दा मोदीको यो भ्रमण धार्मिक प्रकृतिको देखिए पनि यो अवसरलाई दुवै मुलुकले एक अर्काबीच कूटनीतिक सम्बन्ध सुधार गर्ने महìवपूर्ण अवसरका रूपमा प्रयोग गरिरहेको भारतका लागि नेपालका पूर्वराजदूत प्रा.डा. लोकराज बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गौतम बुद्ध भारतमा जन्मिनुभएको हो भन्दै विगतमा फैलिएको भ्रमलाई चिर्नसमेत यो भ्रमण फलदायी भएको छ । धार्मिक, सांस्कृतिक तथा अन्य क्षेत्रका विकासको हिसाबले पनि नेपालले यसलाई सदुपयोग गर्नुपर्छ ।” 

भारतका प्रधानमन्त्री मोदीले यसअघि पनि नेपाल भ्रमणमा आउँदा पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामको भ्रमण गर्नुभएको थियो । ती भ्रमणका क्रममा नेपालको विकाससम्बन्धी थुप्रै परियोजनामा हस्ताक्षर पनि भएका थिए । 

बुद्ध जन्मेकै दिन मोदीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध अझ गहिरो भएको भारतका लागि नेपालका अर्का पूर्वराजदूत नीलाम्बर आचार्यले बताउनुभयो तर मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल सरकारले पनि आफ्ना कुराहरू प्रमुखता साथ उठाउनुपर्ने आचार्यले बताउनुभयो । विगतमा थाती रहेका विषयमाथि छलफल गर्ने यो उपयुक्त मौका भएको उहाँको भनाइ छ । 

आचार्यले भन्नुभयो, “नेपालले आफ्नो कुरा राख्न पनि हिच्किचाउनुहुन्न । सीमा विवाद, ईपीजीको बैठक तथा विगतका सन्धिका विषयमा पनि नेपाल सरकारले कुरा राख्नुपर्छ ।”सम्बन्धलाई सुदृढ पार्न नेपालको पक्षबाट पनि भारतलाई आश्वस्त पार्नुपर्ने प्रा.डा. बरालले बताउनुभयो । उहाँले भन्नुभयो, “मुख्य कुरा एक अर्कामा विश्वास हुनुपर्छ । दुई मुलुकबीच सद्भावना कायम राख्न तथा भारतको सुरक्षामा नेपाल पक्ष पनि गम्भीर बन्नुपर्छ ।”

विश्लेषक अरुणकुमार सुवेदीले पनि मोदीले नेपालसँगको सम्बन्धलाई सुदृढ बनाउनलाई धार्मिक प्रकृृतिको भ्रमणलाई रोज्ने गरेको बताउनुभयो । भारतप्रति नेपालको आवेगी जनमतलाई पूर्णविराम लगाउन यस्तो भ्रमणले सहयोग गरेको सुवेदीले बताउनुभयो । 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।