• २१ मंसिर २०८१, शुक्रबार

पर्यटकीय सूचीमा रहेको पटेकडाँडा सुनसान (फोटो फिचर)

blog

सूर्योदय हुनुपूर्व पटेकडाँडाबाट देखिएको मनोरम दृश्य । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे

हिले, कात्तिक २६ गते । धनकुटाको सबैभन्दा अग्लो स्थानको रूपमा पटेकडाँडा चिनिन्छ । २ हजार ७०२ मिटरको उचाइमा रहेको यो डाँडा सरकारको १०० पर्यटकीय गन्तव्य सूचीमा रहेको छ । 

विभिन्न हिमाल, पूर्वका अधिकांश जिल्ला, पहाडको मनोरम दृश्य देखिने मालिङ्गोले घेरेको डाँडो आकर्षक छ । पर्यटकीय सिजनमा पनि पटेकडाँडामा पर्यटक नआउँदा प्रायः सुनसान हुन्छ । पर्याप्त पर्यटकीय पूर्वाधार तथा प्रचार–प्रसारको कमीले पटेकडाँडा पर्यटक नआएको स्थानीय मुडूँ शेर्पाले बताउनुभयो । 

यो डाँडो चार पालिकाको सिमाक्षेत्र पनि हो । धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका तथा तेह्रथुमको लालीगुराँस नगरपालिका र छथर गाउँपालिका पटेकडाँडामा जोडिएका छन् । चारै पालिकाले बेवास्ता गर्दा पूर्वाधार निर्माण र प्रचार–प्रसारको काम हुन नसकेको शेर्पाको भनाइ छ । 

कोशी राजमार्गमा पर्ने सिधुवा बजार नजिक रहेको यो डाँडामा करिब ३० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ । त्यस्तै, नुनथलाबाट समेत पुग्न सकिन्छ । प्रदेश सरकारको सहयोगमा महालक्ष्मी नगरपालिकाले नुनथलाबाट तथा छथर जोरपाटीले सिधुवाबाट सिँढी निर्माण गरे पनि पूरा हुन सकेको छैन । 

दुवैतर्फका सिँढी आधामात्र निर्माण भएका छन् । थप पूर्वाधार निर्माणका लागि बजेट माग गर्दा नआएकाले पूर्वाधार निर्माणको काम थप अघि बढ्न नसकेको पालिका प्रमुखको भनाइ छ । 

पटेकडाँडा धनकुटाको सबैभन्दा बढी उचाइ भएको स्थान हो । यो डाँडाबाट मकालु र कुम्भकर्ण हिमशृङखलासहित पूर्वका विभिन्न जिल्लाको अधिकांश स्थान देख्न सकिन्छ । यो डाँडा खास गरी सूर्योदय र सूर्यास्त अवलोकनका लागि प्रख्यात छ ।