• २६ मंसिर २०८१, बुधबार

निस्दीलाई मण्डली कप उपाधि

blog

रेखीराम राना 

तानसेन, कात्तिक २५ गते । मण्डली कपको उपाधि निस्दी भलिबल क्लबले हात पारेको छ । उपाधिका लागि निस्दी र मणिमुकुन्द भलिबल क्लबबिच भएका प्रतिस्पर्धामा निस्दीले मणिमुकुन्दलाई पराजित गर्दै उपाधि हात पारेको हो । 

निस्दीले मणिमुकुन्दलाई पहिलो सेटमा २७–२५ ले हराएको थियो । यस्तै दोस्रो सेटमा मणिमुकुन्दले निस्दीलाई ३१–२९ मा हरायो भने तेस्रो सेटमा निस्दीले २५–१९ मा मणिमुकुन्दलाई हरायो । चौथो सेटमा मणिमुकुन्दले निस्दीलाई २५–१७ मा पराजित गर्‍यो । अन्तिम सेटमा निस्दीले मणिमुकुन्दलाई १५–८ मा हराएर उपाधि हात पारेको हो । 

उपाधि जितेको निस्दीले एक लाख ५० हजार रुपियाँसहित, प्रमाणपत्र, मेडल र ट्रफी हात पारेको छ । मणिमुकुन्दले एक लाखमा चित्त बुझायो । यस्तै रामपुर–१० ले तेस्रो हुँदै ७० हजार रुपियाँसहित पुरस्कार प्राप्त गर्‍यो । 

विजेतालाई लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ र क्लबका अध्यक्ष अन्तप्रसाद श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो । मण्डली युवा क्लबको आयोजनामा कात्तिक २१ गतेदेखि पूर्वखोला–१, स्थित मण्डली खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको क्लबका सचिव कृष्णप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । 

महिलातर्फ वालिङ विजयी

महिलातर्फ भएको प्रतिस्पर्धामा वालिङ भलिबल क्लब स्याङ्जा विजयी भएको छ । उपविजेता निस्दी खेलकुद विकास समिति भएको छ । यस्तै स्टेप भलिबल क्लब रामपुर तेस्रो भएको छ । महिलातर्फ प्रथम, द्वितीय र तृतीयले क्रम: नगद ३०, २० र १० हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी पाएका छन् ।