• २५ मंसिर २०८१, मङ्गलबार

टिकटक सूचीकृत

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २२ गते । सामाजिक सञ्जाल एवं भिडियो प्लेटफर्म टिकटक औपचारिक रूपमै नेपालमा सूचीकृत भएको छ । टिकटकका प्रतिनिधि उपस्थित भएर मङ्गलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सूचीकृत भएको प्रमाणपत्र लिएका हुन् । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आवश्यक कागजपत्र बुझाएर मन्त्रालयको समन्वय शाखामा टिकटक सूचीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार टिकटक सूचीकरणको विषयमा तिहारअघि नै निर्णय भएको थियो । 

टिकटकका तर्फबाट नेपाल सरकारसँग परामर्शका लागि दक्षिण एसिया हेर्ने प्रतिनिधि आएका थिए । सरकारले राखेका चार सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता आएको छ । साथै टिकटकले करदाता नम्बर र पान नम्बर लिइसकेको छ । 

अपराध अनुसन्धानमा सघाउने

२०८० कात्तिक २७ गते ‘सामाजिक सद्भाव खलबल्याएको’ विषयलाई दृष्टिगत गरी सरकारले टिकटकलाई नेपालमा प्रतिबन्ध गरेको थियो । सरकारले २०८१ भदौ ६ गते ससर्त टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । टिकटकको दक्षिण एसिया हेर्ने टोलीसँगको संवादपछि भदौ १९ गतेदेखि औपचारिक रूपमा टिकटक खुलेको हो । 

सहसचिव ठाकुरका अनुसार सरकारले राखेका चारै सर्त टिकटकले मानेको छ । उहाँले भन्नुभयो, “टिकटकले सम्पर्कविन्दु तोकेको छ । टिकटकमार्फत हुन सक्ने साइबर अपराध अनुसन्धानमा सघाउने प्रतिबद्धता आएको छ । यसका लागि टिकटकले साइबर ब्युरोलाई आवश्यक उपकरण उपलब्ध गराएको छ ।”

उहाँले टिकटकका सामग्रीलाई व्यवस्थित गर्ने सन्दर्भमा पनि प्रतिबद्धता आएको छ । उहाँले ‘कन्टेन्ट फिल्टर’ गर्ने व्यवस्था सिङ्गापुरमा भएकाले त्यहाँ नेपालीलाई आबद्ध गर्ने सन्दर्भमा टिकटक सहमत भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले नेपालमा चल्ने टिकटकको कन्टेन्ट फिल्टर गर्न नसकेमा साइबर ब्युरोको समन्वयमा टिकटकले दुई दिनमा सामग्री हटाउने गरी समझदारी भएको छ ।”