कमल खत्री
धम्बोझी, कात्तिक २० गते । एक साता अघि काठमाडौँमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला टोलीकी सदस्य पूजा रानालाई गृहजिल्लामा सम्मान गरिएको छ ।
पूजालाई बाँकेको कोहलपुर नगरपालिकाले मङ्गलबार ५१ हजार रुपियाँसहित सम्मान गरेको हो । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्य कोहलपुर निवासी पूजाले नेपाललाई फाइनलसम्मको यात्रा तय गर्नमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
राष्ट्रिय टोलीमा पूजाले गरेको योगदानको उच्च मुल्याकन गर्दै सम्मान गरिएको कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । कोहलपुरकी चेलीले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा देशकै लागि महत्वपूर्ण योगदान गर्ने खेलाडीलाई सम्मान गर्न पाउँदा खुसी लागेको नगरप्रमुख आचार्यले बताउनुभयो ।
आचार्यले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा पछिल्लो समय कोहलपुर नगपालिकाले विद्यालयस्तरका खेल, कोहलपुर गोल्ड कप, वडास्तरीय फुटबल, क्रिकेट र भलिबल जस्ता खेलहरु आयोजना गरिरहेको बताउनुभयो ।
नगरप्रमुख आचार्यले खेलाडीहरुको आत्मबल र उहाँहरुको क्षमताको सम्मान गर्दै भावी दिनमा यसरी नै खेलाडीहरुको सम्मान गरिने उल्लेख गर्नुभयो । कोहलपुर नगर उपप्रमुख सङ्गीता सुवेदी पौडेलले कोहलपुरको चेलीलाई यसरी सम्मान गर्न पाउनु गर्वको कुरा भएको बताउनुभयो ।